हिन्दी सिनेमाका प्रख्यात अभिनेता अशोक कुमार अर्थात् दादामुनिले संसार त्यागेको २२ वर्ष हुँदैछ। तर पुराना चलचित्रहरुमा उनको उपस्थिति यस्तो छ की उनी अहिले पनि यही छन् जस्तो आभाष हुन्छ।
६ दशक लामो करियरमा उनले ३ हजार चलचित्रमा काम गरे। उनले यस्तो चरित्रहरुलाई पर्दामा साकार गरे जसलाई कहिल्यै बिर्सन सकिन्न। उनले दिलीप कुमार, राज कपुर र देवानन्दको तिकडी बन्नुभन्दा पहिले काम सुरु गरे र राजेश खन्ना, अमिताभ बच्चन सुपरस्टार बन्दासम्म काम गरिरहे। यसरी हेर्ने हो भने अशोक कुमारलाई भारतीय चलचित्रका प्रथम सुपर स्टार मान्न सकिन्छ। उनले लगातार सात सुपरहिट चलचित्र दिएका थिए। उनको चलचित्रहरुले सन् १९३६ देखि १९५५ सम्म कमाइको रेकर्ड बनाउने गर्थे। यसबीच उनले ४७ वटा चलचित्रमा काम गरेका थिए।
यीमध्ये तीन दर्जन चलचित्र बक्स अफिसमा हिट मानिएको थियो। चलचित्र ’अछूत कन्या’ देखि सुरु भएको अशोक कुमारको यात्रा ’नयाँ संसार’, ’वचन’, ’बन्धन’, ’किस्मत’, ’महल’, ’तमाशा’, ’मशाल’, ’खिलाड़ी’, ’परिणीता’, ’दीदार’ र ’बंदिश’ जस्तो चलचित्रहरुले नयाँ उचाइ दिएको थियो।
सन् १९४३ मा आएको ’किस्मत’ ले बक्स अफिसमा धमाल नै मच्चाएको इतिहास छ। कमाइको मामिलामा पनि त्यतिबेला एक करोडको शिखर छुने पहिलो हिन्दी फिल्म साबित भएको थियो। यस फिल्ममा अशोक कुमारको नेगेटिभ चरित्र छ। त्यतिबेला खलनायकमा देखिनु एउटा हिरोको लागि ठूलो रिस्क थियो तर अशोक कुमारले त्यो चुनौती स्वीकार गरेका थिए।
नतिजा यस्तो भयो कि फिल्मले १ सय ८६ हप्तासम्म बक्स अफिसमा कमाइ गर्यो। यस चलचित्रको कमाइको रेकर्डलाई पछि गएर शोले चलचित्रले तोडेको थियो। यो अशोक कुमारको फिल्मी करियरको त्यो समय थियो जहाँ केवल अशोक नै अशोक देखिन्थे। उनको अगाडि कोही देखिन्थेन। संयोगले फिल्मी अभिनयमा आएका अशोक कुमारका यी फिल्महरुमा उनको असहजता, कमजोरीहरु र चुलबुलेपन पनि देखिन्छ। तर उनको स्टारडम दंग पार्ने खालको रह्यो।
अभिनेताको रुपमा अशोक कुमारको करियरको दोस्रो पडाव झन् मजबुत रहयो। यसमा उनी माझिएका र मेथड एक्टिङको गुणका साथ पर्दामा देखिन्छन्। १९५६ मा शक्ति सामन्तको चलचित्र ’इन्स्पेक्टर’ मा प्रहरीको वर्दीमा देखा पर्छन् उनी। यो हिन्दी सिनेमाको इतिहासमा पहिलो पटक भएको थियो जतिबेला एउटा नायक प्रहरीको वर्दीमा पर्दामा देखिएका थिए। त्यसपछि त चुरोट तान्दै अपराधी र प्रहरी इन्स्पेक्टरको चरित्रमा उनी थुप्रै फिल्ममा देखा परे। यसलाई पछि हिन्दी सिनेमाले निकै अपनायो।
यसै समयमा ’शतरंज’, ’एक ही रास्ता’, ’आरती’, ’हावड़ा ब्रिज’, ’चलती का नाम गाड़ी’, ’गृहस्थी’, ’सेवरा’, ’गुमराह’, ’बंदिनी’, ’मेरे महबूब, ’ये रास्ते हैं प्यार के’, ’दीदार’, ’कंगन’, ’आकाशदीप’, ’कल्पना’, ’ऊंचे लोग’ जस्तो फिल्मबाट अशोक कुमारले प्रशंसकका साथै आलोचकहरुलाई समेत चकित बनाइरहेका थिए। यी चलचित्रहरुमा उनले नायकत्वको चोला उतारेर पूरै परिपक्व अभिनेताको रूपमा देखा परेका थिए। प्रत्येक नयाँ फिल्मा उनी अभिनयको नयाँ आयाम थप्दै गइरहेका थिए।
यो अभिनेता अशोक कुमारको यस्तो समय थियो, जहाँ उनी अप्ठ्यारा भूमिकाहरुलाई समेत गहिरोसँग सहज रूपमा पर्दामा उतार्थे। ती चलचित्रहरु आजको समयमा हेर्दा त्यो भूमिका अशोक कुमारको लागि नलेखिएर अशोक नै त्यो भूमिकाको लागि बनेको जस्तो भान हुन्छ। यत्तिमै उनी रोकिँदैनन्। आफ्नो करियरको तेस्रो पडावमा उनी झनै परिष्कृत अभिनेताको रुपमा उपस्थित हुन्छन् र पूर्ण रुपमा चरित्र अभिनेताका साथै प्रयोगहरुको गरिरहन्छन्।
उनको यस कालक्रमका फिल्महरुको लिस्ट पनि लामो छ, ’दादी मां’, ’आशीर्वाद’, ’ज्वैल थीफ’, ’विक्टोरिया नंबर २०३’, ’भाइ’, ’सत्यकाम’, ’टैक्सी ड्राइवर’, ’पाकीजा’, ’सफर’, ’प्रेम नगर’, ’मिली’, ’आनंद’, ’शौकीन’, ’छोटी सी बात’, ’आपके दीवाने’ जस्ता दर्जनौं फिल्महरु छन्। यतिबेला उनी अभिनयमा यति पोख्त भइसकेका थिए कि कुनै पनि सिनको लागि उनले रिटेक लिँदैन थिए। एक टेकमा नै सिन ओके हुन्थ्यो।
यति लामो र विविधतापूर्ण करियरको विभिन्न चरणमा पनि अशोक कुमार आफ्नो चरित्रमा हुँदा कहिल्यै पनि लाउड अथवा ओभर एक्टिङको शिकार भएनन्। उल्लेखनीय छ, अशोक कुमार तिनै अभिनेता हुन् जसले पारसी थिएटरबाट हिन्दी सिनेमामा आएको लाउड शैलीबाट हिन्दी फिल्महरुलाई मुक्त गरेका थिए। संवादलाई सहज र सरल ढंगबाट बोल्न सिकाएका थिए। आम मान्छेको जीवनको दैनिकी खालको भूमिकाहरु अशोक कुमारले छ दशकसम्म निभाइरहे।
बिहारको भागलपुरमा १३ अक्टोबर १९११ मा जन्मेका अशोक कुमारको स्क्रीन नामका किस्साहरु पनि निकै चर्चित छन्। उनको असली नाम अशोक कुमार नै हो। तर उनका पिताले मिथुन राशिको नाम राख्नको लागि उनको नाम काशी विश्वेश्वर गांगुली गरिदिएका थिए।
त्यसपछि उनको नाम कुमुद कुमार गांगुली भयो। यो नाम लामो समयसम्म रह्यो तर स्क्रीन नामको लागि अन्त्यमा पुनः अशोक कुमार नै राखियो। उनको परिवार अधिवक्ताहरुको थियो तर उनलाई परिवारको पेशामा फिटिक्कै रुचि थिएन। फिल्मी संसारमा उनको बहिनीज्वाइँ शशीधर मुखर्जी निकै सफल थिए। तर त्यतिबेला आशोक कुमारको अभिनयमा पनि कुनै रुचि थिएन। साइन्स ग्रेजुएट भएका कारण उनी ल्याब अस्सिटेन्ट बने र यसमा पनि सफलता पाए । तर भाग्यमा अरु नै केही लेखिएको थियो।
तत्कालीन बम्बे टकीजका मालिक हिमांशु रायका सहायक थिए शशीधर मुखर्जी। हिमांशु रायकी पत्नी देविका रानी जो त्यतिबेला कि चर्चित नायिका पनि थिइन्। ’जीवन नैया’ फिल्मको नायक नजमुल हसनसँग हिमांशु राय चिढिएका थिए, त्यसैबेला उनलाई नजमुललाई हटाएर अशोक कुमारलाई उक्त चलचित्रको नायक बनाउने बिचार आयो। अशोक कुमारलाई जब यो मौका दिइयो त्यतिबेला उनले भनेका थिए, म संवाद बोल्न सक्दिन होला तर हिमांशु रायपनि पछि हटेनन्। उनले सबै सिकाएर पनि नायक यसैलाई बनाउने भनी कस्सिए।
संयोगबाट सुरु भएको उनको यात्रा छ दशकसम्म निरन्तर र सुन्दर ढंगले अगाडि बढ्यो। यसबीच उनले देविका रानी, लीला चिटनिस, निरूपा राय, सुरैया, नलिनी जयवंत, मधुबाला र मीना कुमारी जस्तो नायिकाहरुसँग उनको जोडी निकै रुचाइयो। एक समयमा नलिनी जयवंतसँग उनको प्रेमप्रसंगको किस्साहरु पनि निकै चर्चामा रहेको थियो।
अशोक कुमारले १९८८ मा दूरदर्शनलाई दिएको एक इन्टरभ्युमा भनेका थिए जब उनी चलचित्र क्षेत्रमा आएका थिए त्यतिबेला कुनै कुनै फिल्म स्टारको करियर १० देखि १५ वर्षको मानिन्थ्यो। उनले आफ्नो यात्रालाई पनि पाँच वर्षको मात्रै मानेका थिए। यसबीच केही पैसा कमाएर पछि व्यापार गर्ने उनको योजना थियो तर पछिसम्म पनि फिल्महरु हात परिरह्यो र यात्रा चलिरह्यो।
सन् २००१ मा ९० वर्षको आयुमा उनको निधन भयो। त्यतिबेलासम्म उनी भारतीय सिनेमाका दादा मुनि बनिरहे।अभिनेताको रुपमा उनलाई देशको शीर्ष ’दादा साहेब फाल्के’ पुरस्कार १९८८ मा प्रदान गरियो भने १९९९मा पद्म भूषण सम्मान प्राप्त भयो। १९६९ मा ’आशीर्वाद’ को लागि उनलाई सर्वश्रेष्ठ अभिनेताको राष्ट्रिय पुरस्कार पनि प्रदान गरिएको थियो। भने दुईपटक फिल्म फेयरकको तर्फबाट सर्वश्रेष्ठ अभिनेता पनि चुनिए। सरकारले २०१३ मा उनीमाथि हुलाक टिकट पनि जारी गरेको छ।
बीबीसी हिन्दीबाट