काठमाडौं– बुधबार मात्रै धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले कोशी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेको कांग्रेस यू टर्न भएको छ।
राप्रपालाई समेत सरकारमा सहभागी गराएर कोशीमा आफ्नै नेतृत्वको सरकार बनाउने निर्णय गरेको सभापति शेरबहादुर देउवाले धुम्बाराही बैठकमा सहभागी बताएका थिए।
तर, आज बसेको गठबन्धन दलको बैठकले नेकपा माओवादी केन्द्रका इन्द्र आङ्बोलाई कोशी प्रदेशको मुख्यमन्त्रीका रुपमा अघि सार्ने निर्णय गरेको हो।
कांग्रेसकै प्रस्तावमा आङ्बोलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउन लागिएको नेकपा एसका उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए। ‘आङ्बोको नाममा गठबन्धनले सर्वसम्मत निर्णय गरेको हो। सम्भवतः आजै दाबी पेस गर्ने सहमति भएको छ,’ उनले भने।
प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपधारा (५) अनुसार सरकार गठनका लागि २६ असोज शुक्रबार बेलुकी ५ बजेसम्मको समय दिएका छन्।
बागमती र कर्णालीमा सरकारको नेतृत्व गरेको माओवादीले अब कोशीमा पनि मुख्यमन्त्री पाउने भएको हो। गठबन्धन सरकारमा मधेस प्रदेशको नेतृत्व जसपाले गरेको छ भने गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार छ।