काठमाडौं– जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले भेपमा ९ केजी सुन तस्करी प्रकरणमा संलग्न पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुलसहित चार जनाविरुद्ध संगठित अपराध र भन्सार छली अभियोगमा अदालतमा मुद्दा दायर गरेको छ।
आज जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले राहुलसहित चिनियाँ तस्करका सहयोगी लोकेन्द्र पौडेल, हाल ६१ केजी सुन तस्करी प्रकणरमै थुनामा रहेका दाबा छिरिङ र काभ्रेका निमा गुरुङविरुद्ध मुद्दा दायर गरेको हो।
बिजुली चुरोट (भेप) मा ९ केजी सुन तस्करी प्रकरण छानबिन गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धनान गरी रायसहितको प्रतिवेदन शुक्रबार सरकरी वकिलको कार्यालयमा पेस गरेको थियो।
सीआईबीले ९ केजी सुन तस्करी प्रकरणमा संलग्नमाथि कारबाहीको सुझाव दिएपछि सरकारी वकिलको कार्यालयले अदालतमा मुद्दा दायर गरेको कार्यालय प्रमुख सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेले बताए।
१० पुस २०७९ मा दुबईबाट चिनियाँ तस्करले भेपमा लुकाएर ल्याएको सुन विमानस्थल भन्सार कार्यालयले नियन्त्रणमा लिएको थियो। शंकास्पद रुपमा भेप ल्याएको पाइएपछि नियन्त्रणमा लिएर गोदाममा सिल गरेर राखिएको थियो।
अनुसन्धान गर्ने क्रममा भेपमा सुन आएको पाइएको थियो। भन्सारले भेप नियन्त्रणमा लिएपछि पूर्वसभामुख महरा र छोरा राहुलले पटक–पटक भन्सारका कर्मचारीलाई फोन गरी छुटाउन दबाब दिएका थिए।
सीआईबीको सोधपुछमा समेत बाबु कृष्णबहादुरले आफूले सुन छुटाइदिन आग्रह गरेको साविती बयान दिएका थिए। तर, कृष्णबहादुरलाई उन्मुक्ति दिएर उनका छोरासहितका तीन जनालाई प्रतिवादी बनाएको छ। सुन ल्याउनेमध्यका दावाजिन वाङसहित ६ चिनियाँ तस्कर फरार छन्।
भन्सार ऐन, २०६४ को दफा ५७ मा बिगो रकम हेरी १ करोडदेखि ३ करोडसम्मको बिगो भएमा एक वर्षदेखि ३ वर्षसम्म कैद र ३ करोडभन्दा बढी बिगो भएमा ३ देखि ५ वर्षसम्मको कैद सजाय हुने उल्लेख छ।
भेपमा सुन लुकाई ल्याएको प्रकरणमा ८ करोड बढीको बिगो कायम गरिएकाले उक्त मुद्दामा उनीहरु दोषी ठहर भए कम्तीमा ५ वर्षको कैद सजाय हुनेछ।