काठमाडौं– सत्ता टिकाउन सुशासन गुमाउँदै गएको मधेस प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित मन्त्रालयको संख्या १२ पु¥याइएको छ। १२ मन्त्रालयमा मुख्यमन्त्री, मन्त्री र राज्यमन्त्रीसहितको संख्या १४ पुगेको छ। जनता समाजवादीका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रालय फुटाएर आफ्नै पार्टीकी बिनाविभागीय मन्त्री रहेकी सुरिता साहका लागि मन्त्रालय फुटाएका हुन्।
मुख्यमन्त्री यादव नेतृत्वको सरकारले शुक्रबार शिक्षा तथा समाज कल्याण मन्त्रालयलाई फुटाएर सातौंपल्ट मन्त्रिपरिषद् विस्तार र पुनर्गठन गरेको हो। यादवले शिक्षा तथा समाज कल्याण मन्त्रालय फुटाएर शिक्षा तथा संस्कृति मन्त्रालय र खेलकुद तथा समाज कल्याण मन्त्रालय बनाएका हुन्।
फुटाइएको मन्त्रालयमा मुख्यमन्त्री यादवले साहलाई ‘फुल’ मन्त्रीको जिम्मा दिएका छन्। जनमत पार्टीको भागबन्डामा परेको शिक्षा तथा समाज कल्याण मन्त्रालय महेशप्रसाद यादवले मन्त्रालय सम्हाल्दै आएका छन्। तर, गठबन्धन दलको सल्लाहबिनै र मन्त्रिपरिषद् बैठकमा प्रस्तावसमेत नलगेर मन्त्रालय फुटाइएको छ।
प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तिमा मन्त्री यादवलाई शिक्षा तथा संस्कृति मन्त्रालय र चार महिनादेखि बिनाविभागीय मन्त्री रहेकी साहलाई खेलकुद तथा समाज कल्याण मन्त्रालय तोकिएको छ।
मन्त्री यादवले भने मन्त्रालय फुटाएर शिक्षा तथा समाज कल्याण मन्त्रालयको जिम्मेवारी आफूलाई दिएपछि त्यसलाई अस्वीकार्ने बताएका छन्। पार्टीमा छलफलपछि सबै कुरो फाइनल हुने उनले जानकारी दिए। स्वतन्त्रबाट जितेर सांसद बनेकी साह जसपामा प्रवेश गरेपछि उनलाई उपहारस्वरूप मन्त्री बनाइएको थियो।
सपथका बेला मुख्यमन्त्री यादवले मन्त्रालयको संख्या नबढाउने प्रतिबद्धता जनाएका थिए। तर, आफ्नै प्रतिबद्धतालाई लत्याएर साहलाई पार्टीमा टिकाउनकै लागि मन्त्रालय टुक्र्याइएको छ।
१७ असोजमा बसेको मन्त्रिपरिषद् बैठकको निर्णय र मुख्यमन्त्री कार्यालयको सिफारिसमा साहलाई मन्त्रीको जिम्मेवारी दिइएको हो। प्रदेश प्रमुखले सिफारिस प्रमाणीकरण गरेपछि साहले मन्त्रीको जिम्मेवारी पाएकी छन्। प्रदेश प्रमुख मिश्रले संविधानको धारा १६८ को उपधारा (९) बमोजिमको कार्य जिम्मेवारी र कार्य विभाजनसहित मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन्।
सातपल्ट मन्त्रिपरिषद् विस्तार गर्दा पनि दलित तथा जनजाति समुदायबाट एक जना पनि मन्त्री बनाइएको छैन। माओवादी र जसपाबाट दुई महिला मन्त्री भएका छन् भने मुस्लिम समुदायबाट ३ जना मन्त्री छन्। यादव समुदायबाट मुख्यमन्त्रीसहित ५ जना मन्त्री छन्।
मन्त्रालयबिनै मन्त्रीलाई सपथ
नवनियुक्त मन्त्री साहले खेलकुद तथा समाज कल्याणमन्त्रीको जिम्मेवारी पाएपनि अहिलेसम्म मन्त्रालय कायम भएको छैन। मन्त्रीलाई कहाँ बसाल्ने र कर्मचारी कताबाट ल्याउने भन्नेसमेत अत्तोपत्तो छैन। सुरुमा तीन सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेर मुख्यमन्त्री यादवले २९ पुस २०७९ मा सपथ लिएका थिए।