काठमाडौं– कांग्रेस नेता डा शेखर कोइरालाले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशलाई अराजकतातिर धकेलेको आरोप लगाएका छन्।
पछिल्लो समय मुलुकका विभिन्न सामाजिक विद्वेष देखिनुमा प्रधानमन्त्री प्रचण्डबाट बेलाबेला व्यक्त भइरहेका जातजातिबीच द्वन्द्व हुने खाले भाषण रहेको उनले टिप्पणी गरेका हुन्।
आज कांग्रेस गोरखाको सहिद लगन–काठमाडौं गाउँ सम्पर्क मञ्चले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा कोइरालाले सडकमा लाखौं मान्छे उतार्छु भनेर प्रधानमन्त्री प्रचण्डले आफ्नै सरकारलाई धम्की दिएको कटाक्ष गरे।
कांग्रेसको समर्थनमा बनेका प्रधानमन्त्री प्रचण्ड अराजक बनेपछि अब विकल्प खोज्नुपर्ने बेला आएको शेखरले दाबी गरे। ‘प्रधानमन्त्री प्रचण्डले सडकमा लाखौं मान्छे उतार्छु भनेर धम्की दिनु अशोभनीय हो। उनी देशको प्रधानमन्त्री हुन् कि पार्टीका अध्यक्ष? गैरजिम्मेवार भएर बोल्न मिल्दैन। २०८४ मा माओवादीलाई जिताए कोशीको नाम बदलेर जातीय राज्य बनाउँछु भनेकैले प्रदेशमा जातजातिबीच द्वन्द्व बढेको हो’, उनले भने।
प्रधानमन्त्री प्रचण्डले केही साताअघि विराटनगर पुगेर माओवादीलाई जिताए जातीय राज्य दिने ग्यारेन्टी गरिने भाषणा ठोकेका थिए। देशमा फैलिएको अराजकता रोक्ने हैसियत कांग्रेसमा मात्र रहेकाले अब सरकारको नेतृत्व लिनैपर्ने अवस्था आएको कोइरालाले ठोकुवा गरे।
पछिल्लो समय धरान, इटहरी, मलंगवा हुँदै नेपालगञ्जसम्मका घटनाले अराजकताको संकेत गरेकाले कांग्रेसले सरकारको नेतृत्व लिएर प्रचण्डलाई हटाउनुपर्ने उनको भनाइ छ। नेतृत्वलाई सच्चिनुपर्छ भन्ने कार्यकर्ता आफू पनि सच्चिन आवश्यक रहेको उनले सुझाए।
कार्यक्रममा गोरखा १ बाटै निर्वाचित सांसद राजेन्द्र बजगाईंले कांग्रेस रुपान्तरणको अभियान हरेक व्यक्तिले आफैैंबाट सुरु गर्न आवश्यक रहेको बताए।