बलिउड अभिनेता देव आनन्द अहिले बाँचेका भए एक सय वर्षका हुन्थे। उनको फिल्मी जीवन जतिको रोमाञ्चित त्यतिबेलाको अन्य कुनै नायकको थिएन सम्भवतः। आफ्नो आत्मकथा ‘रोमान्सिङ विथ लभ’मा उनले उल्लेख गरेका छन् - एउटी केटीले मलाई खुबै चिट्ठीहरु लेख्थिन् र मैले पनि १०–१२ पटक त्यसको जवाफ दिएँ। तर त्यसपछि मैले जवाफ फर्काउन बन्द गरिदिएँ।
एकदिन उनले मेरो सबै चिठ्ठीहरुका साथ एउटा गुडबाइ नोट लेखेर फिर्ता पठाइन्। उनको मन दुखेको थियो। मलाई हजारौं फ्यानको नमेल आउँथ्यो। एक पटक मैले एउटा फ्यानको चिठ्ठीको जवाफ दिएको थिएँ। उसले त्यसपछि मलाई ३ हजार ७२० पटक चिठ्ठीको जवाफ फर्कायो मैले पुनः उसको चिठ्ठीको जवाफ फर्काउँछु होला भनेर।'
उनी यस्ता स्टार थिए जसको प्रभाव भारत, पाकिस्तान, नेपाल र अन्य थुप्रै मुलुकहरुमा थियो। हलिउडमा डेविड लीन, ग्रेगरी पेक, फ्रैक कोपाला जस्ता दिग्गज उनलाई मान्थे। देव आनन्दको जन्म अविभाजित पञ्जाबको जुन हिस्सामा भएको थियो, त्यो यतिबेला पाकिस्तानमा पर्छ। लाहौरबाट ग्राजुएशन गरेपछि जुलाई १९४३ मा गोजीमा ३० रुपैयाँ बोकेर उनी फ्रन्टियर मेलबाट तत्कालीन बम्बईको लागि हिँडे र केही वर्षपछि नै भारतका ठूलो र सफल अभिनेता बन्न पुगे।
उनलाई त्यतिबेला अनुमान थिएन होला कि पुनः लाहौर फर्कनलाई उनले ५५ वर्षको प्रतीक्षा गर्नुपर्छ। पत्रकार गौहर बट लाहौरमा थिए जतिबेला १९९९ मा भारतीय प्रधानमन्त्री वाजपेयीसँगै देव आनन्द पनि पाकिस्तान गएका थिए। पत्रकार गौहर त्यतिबेलाको दृश्य बताउँदै भन्छन्, ‘५५ वर्षपछि जब उनी पाकिस्तान गए, त्यतिबेला उनी आफू बस्ने शहर र पढ्ने कलेज गएका थिए। देवले आफ्नो कलेज देख्नेबित्तिकै उनको आँखामा आँशु आयो। उनी कलेजको ढोका समातेर बेस्सरी रोए। कलेजमा पढ्दाताका उनी उषा नामकी केटीसँग प्रेममा थिए, उनलाई सम्झेर उनको नाम पुकारे। उनी त्यहाँ कार्यक्रमभरि भावुक बनिरहे।’
लाहौरबाट जब देव मुम्बई आएका थिए त्यतिबेला शुरुमा उनले क्लर्कको काम गरे भने कतिबेला ब्रिटेनी सेनाको सेन्सर अफिसमा पनि काम गरे। तर इच्छा भने उनको हिरो बन्ने नै थियो। उनको एक साथी जोसँग उनी संगीतको कक्षा लिने गरेका थिए, उनले निर्माता बाबुरावको चलचित्रको बारेमा बताएका थिए। त्यहाँ गएपछि चौकीदारले उनलाई भित्र छिर्न दिएनन्। तर पर बसेका बाबुरावले भने ती हेन्डसम ठिटालाई नजरअन्दाज गर्न सकेनन्। अडिशनको लागि डेक्कन क्वीन ट्रेनबाट उनलाई पुणे पठाइयो। यसरी शुरु भयो उनको पहिलो चलचित्रको यात्रा 'हम एक हैं’ जो १९४६ मा आएको थियो।
पहिलो चलचित्रमा नै शर्त राखियो कि उनको दाँतको बीचमा जुन ग्याप छ, त्यहाँ फिलर हालेर शुटिङ गर्नुपर्छ। केही समय उनले दाँतको बीचमा फिलर हालेर नै शुटिङ गरे तर उनले नेचुरल महसुस गरिरहेका थिएनन्। पछि उनैको आग्रहमा फिलर हटाइयो। देव आफ्नो आत्मकथामा लेख्छन्, 'मलाई खुशी लाग्यो, म जस्तो छु त्यस्तै मलाई स्वीकार गरियो।'
‘दम मारो दम’को शुटिङ र काठमाडौं
देव आनन्दका किस्साहरु नेपालमा पनि उत्तिकै चर्चित छन्। नेपालमा उनले 'हरे राम हरे कृष्णा’, 'जोनी मेरा नाम’ र 'इश्क इश्क इश्क’को शुटिङ गरेका थिए। हरे राम हरे कृष्णाको शुटिङ काठमाडौंमा भइरहँदा पूरा सहर ठप्न भएको थियो। पुराना पत्रकार वसन्त थापा आफ्नो स्मरण सुनाउँदै भन्छन्, 'एक रात 'दम मारो दम’ गीतको शुटिङ काठमाडौंमा भएरहेको मैले सुनें। देव आनन्द र जीनत अमानलाई हेर्न भीड यति व्याकुल थियो कि धकेलाधकेल नै चल्यो। यत्तिकैमा प्रहरीले लठ्ठी प्रहार गर्न थाल्यो। दर्शकले पनि प्रहरीमाथि ढुंगामुढा गर्न थाले। एकाध ढुंगा त मैले पनि फालेँ। यो देव आनन्दको जादू नै थियो। त्यतिबेला युवाहरु देवजस्तै ह्याट लगाउने, ब्ल्याक एण्ड ह्वाइट जुत्ता लगाउनेदेखि देवको दाँतमा भएको ग्यापजस्तै दाँत बनाउने सम्मको होड चलेको थियो।'
सन् १९७१ मा बनेको फिल्म हरे रामा हरे कृष्णाको सुरुवाती दृश्य यस्तो छ। पाइलट बनेका देव आनन्द नेपालको लागि पहिलो उडानमा हुँदा माथिबाट काठमाडौंको सौन्दर्य देखेर सहपाइलटलाई भन्छन्, 'यो उपत्यका माथिबाट निकै सुन्दर देखिन्छ, काठमाडौं सहर कस्तो छ? जवाफमा उनका सहपाइलट भन्छन्, 'ल्यान्डिङ सिग्नल उपलब्ध छैन। त्यतिन्जेल यात्रुलाई काठमाडौं घुमाऊँ न त। त्यो स्वयम्भू मन्दिर हेर्नुहोस्। र यो सोल्टी हो- यहाँको सबैभन्दा फेसनेबल होटल।' ‘हरे रामा, हरे कृष्णा’ को लगभग पूरै छायांकन नेपालमा भएको छ। ‘दम मारो दम’ गीतको सुटिङ काष्ठमण्डप मन्दिर नजिकै भएको थियो। त्यो रात ठूलो भिड थियो। ‘हरे रामा हरे कृष्ण’ पछि धेरै भारतीय पर्यटक नेपाल आउन थाले र पथप्रदर्शकले उनीहरूलाई हिन्दी फिल्मको छायांकन भएका सबै ठाउँ देखाए।
‘हरे रामा, हरे कृष्णा’ निर्माणको कथा पनि रोचक छ। कथा सन् १९७० को दशकको हो। आफ्नो फिल्म ‘प्रेम पुजारी’ असफल भएपछि देव आनन्द नेपालमै थिए। तर केही संयोग यस्ता थिए कि देव आनन्द ‘हरे रामा, हरे कृष्णा’ को स्क्रिप्ट लिएर फर्किए र आफ्नो फिल्म लन्डन वा पेरिसमा नभई काठमाडौंमा सुटिङ गर्ने निर्णय गरे।
आफ्नो पुस्तक 'रोमान्सिङ विथ लाइफ' मा देव आनन्दले लेखेका छन्, 'म काठमाडौंमा थिएँ र एक साँझ मेरो साथीसँग 'द बेकरी' भन्ने अनौठो ठाउँमा गएको थिए जहाँ हिप्पीहरू राती घुम्न जान्थे। त्यस बेला युवाहरूमा हिप्पी बन्ने लहर थियो। गाँजा, अफिम, रमाइलो गर्ने, चुरोटको धूवाँमा हराउने, नशामा मात्रै थिए। निधारमा टीका लगाउनुहोस्, घाँटीमा फूलको माला लगाउनुहोस्, चिलिम एक अर्कासँग लिएर समात्नुहोस्। आकाशलाई हेरेर ध्यान गर्दै हुनुहुन्छ। यो एक सिनेमाको दृश्य थियो। तीमध्ये मेरो ध्यान एक खैरो वर्णकी युवतीमा थियो। उनको चस्मा भुईंमा खस्यो र उनले बब मेरो चस्मा भनिन्। अर्थात् उनी भारतीय थिइन्। मलाई अचम्म लाग्यो कि उनी यी हिप्पीहरूबीच के गरिरहेकी छिन्। यो एउटा रोचक कथा जस्तो लाग्यो।
भोलिपल्ट साँझ मैले ती युवतीलाई भेटेँ। आफ्नी आमा क्यानडामा रहेको र आफू काठमाडौंमा घुमिरहेको उनले बताइन्। उनको नाम जसबिर थियो जो अब आफूलाई जेनिस भनेर बोलाउने गर्थिन्। जेनिसले बताएअनुसार उनी आमासँग भागेर क्यानडाबाट नेपाल आएकी थिइन्। उनका बुवाआमाले सम्बन्ध विच्छेद गरेका थिए र बुबा कतै पन्जाबमा बस्थे। जेनिसलाई उनका आमाबाबुले उनको हेरचाह नगरेको र उनीहरूले पुस्तालाई नबुझेको महसुस भयो। त्यसैले उनी केही पैसा चोरेर घरबाट भागिन् र हिप्पी बनिन्। ‘हरे रामा, हरे कृष्णा’ र जीनत अमानको ‘दम मारो दम’ हेरेका जो कोहीले पनि यो फिल्म वास्तवमा जेनिस उर्फ जसवीर र काठमाडौंको कथा हो भन्ने बुझ्नेछन्।'
देव आनन्दको कालो सर्ट
देव आनन्दलाई उनका चलचित्रहरु बाजी, ट्याक्सी ड्राइभर, ग्याम्बलर, गाइडको लागि जति स्मरण गरिन्छ त्यत्तिकै उनको स्टाइलको लागि पनि सम्झिने गरिन्छ। घाँटी झुकाएर बोल्ने, पज नलिई लामो डाइलग बोल्ने, लगातार बोल्ने, उनको त्यो टोपी, घाँटीमा रंगीन रुमाल, स्कार्फ लगाउने स्टाइलको थुप्रै प्रशंसक थिए। नक्कल गर्ने पनि उत्तिकै। यसबारेमा देवले बीबीसीलाई निकै पहिले दिएको अन्तर्वार्तामा भनेका थिए, 'वास्तवमा चलचित्रहरुमा मलाई लामोलामो डाइलग दिइन्थ्यो र यसमा पज लिनु कि नलिनु भन्ने दोधार हुन्थ्यो। यस्तोमा मैले एकै स्वासमा सबै डाइलग बोल्थें।' उनको त्यो बोल्ने तरिका नै स्टाइल बन्न पुग्यो।
उनका फ्यानहरुमाझ अनेक अफवाह र हल्लाहरु चलेको हुन्थ्यो। यस्तैमा एउटा यस्तो हल्ला पनि चलेको थियो कि उनलाई कालो सर्ट लगाएर हिँड्न मनाही छ। कारण उनलाई कालो शर्टमा देखेर केटीहरु बेहोस हुन्छन्। यद्यपि देवले यो कुरालाई हाँसेर टारे। उनले यस्तो अफवाह धेरै भएको बताए।
देव आनन्दका प्रशंसकहरुमा चम्बलको डाकादेखि विभिन्न देशका राष्ट्राध्यक्ष पनि थिए। चलचित्र काला पानीको शुटिङको हेर्न इन्डोनेशियाका राष्ट्रपति सुकार्नो पनि आएका थिए। रोमान्सिङ विथ लाइफमा देव भन्छन्, 'गीतको शुटिङ हुनेवाला थियो। गीत थियो– हम बेखुदी मे तुमको पुकारे चले गए। सबैजना राष्ट्रपतिको प्रतीक्षा गरिरहेका थियौं। उनी शुटिङ हेर्न आउने भनेका थिए। तर दुई घण्टासम्म उनी आएनन्। हामीले गीतको शुटिङ सकायौं। शट सकिनेबित्तिकै खबर आयो- उनी आइपुगे भनेर। यसरी इन्डोनेशियाको राष्ट्रपतिका लागि हामीले त्यो शुटिङ दोहोर्याएर गर्यौं। हिन्दी चलचित्रको शुटिङ हेरेर उनी धेरै खुशी भए। काला पानीको लागि मलाई फिल्मफेयर पुरस्कार प्रदान गरिएको थियो।'
प्रशंसकहरुको कुरा चल्दा उनको एउटा किस्साको निकै चर्चा हुने गर्छ। उनी आफ्नो आत्मकथामा यसको चर्चा गर्दै लेख्छन्, 'शुटिङपछि हामी चम्बल इलाकाको डाक बंगलामा बास बसेका थियौं। कसैले हामीलाई सतर्क गराए, डाकाहरु धावा बोल्न आउन लागेका छन्। जो सतर्क गर्न आएका थिए- उनलाई मैले भने, डाकाहरुलाई भन्दिनु अटोग्राफको लागि कपी लिएर र क्यामरा छ भने फोटो खिच्नको लागि लिएर आउनु। उनीहरुसँग अन्तिम मौका होला आफ्नो स्क्रिनको हिरोसँग फोटो खिचाउने। भोलिपल्ट जब हामी शुटिङ गरिरहेका थियौं, म ट्रकमाथि उभिएँ र उनीहरुलाई भने, कस्तो छौ मेरा देशबासी हो ? अरे देव साहब ! उनीहरुले भने र कोही मसँग हात मिलाउन थाले, कोही अंगालो हाल्न थाले।
एक स्टाइलिस स्टारका साथै देवमा रिस्क लिने आँट पनि उत्तिकै थियो। जो युवक १९४३ मा खाली हात मुम्बई आएका थिए त्यो १९४९ मा आफ्नो नयाँ प्रोडक्शन हाउस नवकेतन फिल्म्स स्थापना गर्न सफल भए। 'ट्याक्सी ड्राइवर’, 'काला बाजार’, 'हम दोनो’ जस्ता मेनस्ट्रिम चलचित्रहरु गरे तर गाइडको रूपमा बोल्ड विषयको पनि चयन गरे जसमा प्रेमको एकदमै फरक रुप देखाइएको थियो। त्यसमाथि चलचित्रमा उनी साधु भएको र अन्त्यमा उनको मृत्यु भएको देखाइएको थियो। यो कुरा त्यतिबेलाको दर्शकले स्टाइलिश देवसँग आश गरेका थिएनन्। त्यतिबेला सिने बजारमा गाइड किन्नको लागि कोही तयार थिएनन् तर आज धेरैले गाइडलाई देव आनन्दको मास्टरपीस मान्छन्।
देव आनन्दको निजी जीवन पनि खुला किताबजस्तै छ। अभिनेत्री सुरैयासँग उनी प्रेममा थिए तर उनीहरुको बिहे हुन सकेन। सुरैया जीवनभर एक्लै बसिन्।
वरिष्ठ पत्रकार अली पीटर जन आफ्नो किताब 'माई देव मेमरीज अफ एन इममार्टल म्यान’ मा लेख्छन्, 'देव आनन्द मलाई भन्ने गर्थे हाम्रो कथा अर्कै भइदिएको भए... त्यतिबेला म स्क्रीनमा काम गर्थे। स्क्रीनले २००२ मा सुरैयालाई लाइफ टाइम अवार्ड दिने भयो। सुरैया मेरो सहयोगी पिरोजलाई सोध्ने गर्थिन् के देव कार्यक्रममा आइपुग्छन् ? उनले भन्थिन्, देव सधैं आउँछन्। तर देवले भने, राम्रो लाग्दैन। मैले उनलाई ४० वर्षदेखि हेरेको पनि छैन। न त फोनमा कुरा गरेको छु। मलाई थाहा छ हामी दुबैले त्यो परिथितिलाई सामना गर्न सक्दैनौं। देव कार्यक्रममा गएनन् तर पछि उनी जान्न चाहन्थे की सुरैया अहिले कस्ती भइन्। आफ्नो एक गीत ‘मै जिन्दगी का साथ निभाता चला गया’ अनुसार देव भने आफ्नो जीवनमा अगाडि बढ्दै गए र आफ्नी नायिका कल्पना कार्तिकसँग विवाह गरे।
- बीबीसी हिन्दीबाट