आइतबार, जेठ २५, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • पूर्वराष्ट्रपति भण्डारीद्वारा सामाजिक एकता, जागरण र पहरेदारीका लागि अपिल

पूर्वराष्ट्रपति भण्डारीद्वारा सामाजिक एकता, जागरण र पहरेदारीका लागि अपिल

 |  शुक्रबार, असोज १९, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १९, २०८०

vianetvianet

काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देशका कतिपय स्थानमा भइरहेका क्रियाकलापका सन्दर्भमा सबैलाई जिम्मेवार बन्न, धैर्य धारण गर्न र संयमता अपनाउन अनुरोध गरेकी छन्।

सामाजिक एकता र सद्भाव कायम गर्ने सम्बन्धमा दिएको सार्वजनिक सन्देशमा उनले नेपाली समाजमा सदियौँदेखि कायम रहेको धार्मिक, सांस्कृतिक एवं अन्तरसामुदायिक सद्भाव र सहिष्णुतामा गम्भीर प्रश्न उत्पन्न हुने गरी भएका घटनाप्रति ध्यानाकर्षण गराएकी छन्।

 पूर्वराष्ट्रपति भण्डारीले भनेकी छन्, “समाजमा शान्ति खल्बलिने तथा प्रचलित कानुनको पालनामा प्रतिकूल असर पर्ने गरी नेपाली जनतालाई नै एकअर्काविरुद्ध उभ्याउने गतिविधिमाथि मलजल गर्न मिथ्या सूचना र झुटा समाचारको समेत उपयोग भइरहेकोतर्फ समेत म सबैको ध्यान आकृष्ट गर्न चाहन्छु।”

नेपाली समाजको धार्मिक, सांस्कृतिक, भाषिक तथा जातीय विविधतालाई हामीले देशको सौन्दर्य र सम्पदाका रूपमा आत्मसात् गर्दै आएको बताउँदै उनले  विविधताबीचको एकता, आपसी सद्भाव एवं सहिष्णुता नै हाम्रो राष्ट्रिय शक्ति भएको उल्लेख गरेकी छन्।

उनले भनिन्, “हाम्रो संविधानले पनि ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान् रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो’ भनी नेपाल राष्ट्रलाई परिभाषित गरेको छ।”

National life insurance

संविधानले सबै नेपाली जनतालाई सम्मान र समानताको अधिकार प्रदान गरेको हामी सबैमा विदितै  रहेको उल्लेख गर्दै उहाँले सबै नागरिकलाई आ–आफ्नो धर्म, संस्कृति र परम्पराको निर्वाध पालनाका लागि हाम्रो संविधान, कानुन र राजनीतिक संरचनाले पर्याप्त स्थान दिएको बताएकी छन्।

पूर्वराष्ट्रपति भण्डारीले भनेकी छन्, “हाम्रो मुलुकमा कसैले पनि आफूलाई कुनै खास भौगोलिक, जातीय, भाषिक वा सांस्कृतिक पृष्ठभूमिका कारण उच्चताबोध वा हीनताबोध गर्नुपर्ने अवस्था छैन।”

आजको घडीमा हामी सबैले हाम्रो सभ्यताका मार्गदर्शनलाई गहिरो गरी आत्मसात् गर्नसक्नुपरेको उल्लेख गर्दै पूर्वराष्ट्रपति भण्डारीले हाम्रासामु समाजलाई थप उन्नति र प्रगतिको दिशातर्फ अगाडि बढाउन चुनौती भए पनि हामीभित्रको सङ्कल्प बलियो रहेको विचार प्रकट गरिन्।

उनले भनिन्, “सुदृढ राष्ट्रिय भावना र सद्भावप्रतिको हाम्रो प्रतिबद्धताले नै हामीलाई निरन्तर अगाडि बढ्न मार्गनिर्देशन गर्नेछ भन्ने विश्वाससहित सबैमा सामाजिक एकता, जागरण र पहरेदारीका लागि हार्दिक अपिल गर्दछु।”

प्रकाशित: Oct 06, 2023| 14:18 शुक्रबार, असोज १९, २०८०
प्रतिक्रिया दिनुहोस्