काठमाडौं– प्रतिनिसभाको आजको बैठकमा सांसदहरुले नागरिकका समस्यामाथि आवाज उठाइरहेका छन्। बैठकमा सांसदहरुले चाडपर्व समय नजिकिँदै जाँदा बजारमा बढ्दो महँगी र कालोबजारीलाई नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराए। बैठकको शून्य समयमा सांसदहरुले बजारमा खाद्य तथा गैरखाद्य वस्तुमा भएको मूल्यवृद्धि नियन्त्रण गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए।
सांसद रघुजी पन्तले बजारमा व्याप्त महँगी नियन्त्रणका लागि माग गरे। ‘गरिबको दसैं यसपालि कसरी टर्छ?’, उनले भने, ‘खल्तीमा तलब हालेर हिँड्यो बजार, चामलको बोराले नाघ्यो तीन हजार, रहर दाल किलोको दुई सय ५०, बजार भाउ सुन्दा गुम्छ होसहवास।’
सांसद भगवती चौधरीले चाडपर्वमा कालोबजारी र महँगीको अनुगमन गर्न ध्यानाकर्षण गराइन्। उनले मिटरब्याज पीडितका लागि न्याय सम्पादनमा समेत सरकारको ध्यानाकर्षण गराइन्।
सांसद माधव सापकोटाले सांस्कृतिक पर्व नजिकिँदै गर्दा बजार अनुगमनलाई चुस्त बनाउन माग गरे। उनले बाढीपहिरोले बिग्रेको सडकको विस्तार मर्मतसम्भार गर्न तीनै तहका सरकारको ध्यानाकर्षण गराए। सरकारले निर्माण व्यवसायीलाई बाँकी रहेको भुक्तानी तत्काल गर्नुपर्ने उनले बताए।
सांसद रामहरि खतिवडाले चाडपर्वका समयमा सुरक्षित यात्राका लागि सडक मर्मतसम्भार गर्न सरकारको ध्यानाकर्षण गराए। उनले धार्मिक र सामुदायिक सद्भावलाई कायम गर्न अनुरोध गर्दै पशुपतिनाथ मन्दिरको जलहरी प्रकरणको अनुसन्धानलाई तीव्र गतिमा अघि बढाउन माग गरे।
सांसद मेनुका पोखरेलले महँगी नियन्त्रणका लागि आग्रह गर्दै विभिन्न वहानामा विश्वविद्यालय बन्द गर्न नहुने बताइन्। सांसदहरु मैना कार्की, लेखनाथ दाहाल र रञ्जुकुमारी झाले बजार अनुगमनसँगै सुरक्षित, सहज र सस्तो यात्राको व्यवस्था गर्नसमेत माग गरे।
बैठकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राजा शब्द प्रयोग गरेको भन्दै माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले रेकर्डबाट हटाउन माग गरे। लिङ्देनले केही सांसदहरुले पूर्वराजा ज्ञानेन्द्रका कारण लोकतन्त्र अप्ठेरोमा परेको भनेको कुरा खण्डन गर्दै जवाफ माग गरेका थिए। उनले भने, ‘राजा ज्ञानेन्द्रको कुन त्यस्तो गतिविधि रहेछ, जसले लोकतन्त्रलाई अवरुद्ध गरेको छ, म त्यसको जानकारी लिन चाहन्छु।’
लिङ्देन बोलेलगत्तै माओवादी सांसद दाहालले भने, ‘नेपालको संविधानले राजा चिन्दैन। भर्खरै एक जना माननीयले राजा भन्ने शब्द प्रयोग गर्नुभयो। यो संघीय लोकतान्त्रि गणतन्त्रात्मक मुलुक हो। तसर्थ राजा भन्ने शब्द रेकर्डबाट हटाइयोस् भन्ने माग राख्न चाहन्छु।’ बैठकमा सांसदहरुले धार्मिक सद्भाव कायम राख्न, सडक मर्मतसम्भार र स्वास्थ्य संस्था निर्माणको कामलाई तीव्रता दिन सरकारसँग माग गरे।
सांसद राजेन्द्रकुमार राईले धनकुटामा प्रदेशस्तरीय अस्पताल बनाउन जग्गा उपलब्ध गराउन सङ्घीय सरकारले निर्णय गर्नुपर्ने बताए। उनले भने, ‘प्रदेश सरकारले बजेट बनियोजन गरेर डिपिआर बनिसेको छ। कृषि तथा पशुपन्छी मन्त्रालयको २५ रोपनी जग्गा संघीय सरकारलाई तत्काल उपलब्ध गराउन सिफारिस गर्दा पनि निर्णय भएको छैन।’
सांसद राजेन्द्रप्रसाद लिङ्देनले बिनाआधार धार्मिक सद्भावमा खलल पु¥याएको आरोप लगाइएको भन्दै असन्तुष्टि व्यक्त गरे। सांसद रामशंकर यादवले सदनमा पटकपटक सरकारको ध्यानार्कषण गराउँदा पनि कार्यान्वयन नभएको गुनासो गरे।
सांसद रामकुमार राईले पहाडी लोकमार्ग दिक्तेल–भोजपुर खण्डमा दश किलोमिटरको कालोपत्र गर्नुपर्ने बताए। सांसद रेखा यादवले वैदेशिक रोजगारीका नाममा महिलाले बेचबिखनमा परेको भन्दै उद्धार, पुनःस्थापन र पुनर्वासको माग गरिन्। सांसद रोशन कार्कीले संसदीय समितिले दिएको निर्देशन सरकारले कार्यान्वयन नगर्नु समितिको अपमान भएको बताइन्।
शून्य समयमा सांसद लेखनाथ दाहालले कार्यतालिकासहितको बजेट कार्यान्वयन प्रक्रियाको लिखित विवरण अर्थ मन्त्रालयसँग माग गरे। सांसद महेन्द्रबहादुर शाहीले बाढीपहिरोका कारण अवरुद्ध सडक तत्काल सञ्चालनमा ल्याउन सरकारको ध्यानार्कषण गराए। उनले भेरी बबई डाइभर्सन आयोजनामा स्थानीयलाई जग्गाको मुआब्जा दिन माग गरे।
सांसद राजेन्द्र बजागाईले नेपाली युवा रुसको सेनामा भर्ती हुने विषयमा सरकारको ठोस जवाफको माग गरे। सांसद महेशकुमार बर्तौलाले त्रिभुवन विश्वविद्यालयमा नेविसंघले प्राध्यापक र सहप्राध्यापकको अन्तर्वार्तामा व्यवधान गर्न तालाबन्दी गरेको भन्दै सरकारको ध्यानार्कषण गराए।
सांसद मञ्जु शर्मा अन्सारीले देशमा धार्मिक सद्भावलाई कायम राख्न आग्रह गरिन्। सांसद रणकुमारी बलमपाकी मगरले काठमाडौंका विभिन्न स्थानका सडक बालबालिकालाई सुरक्षित बास, शिक्षा र संरक्षणका लागि ध्यानाकर्षण गराइन्।
सांसद रमाकुमारी पौडेलले काठमाडौंको इन्द्रचोकभित्र भारी बोक्ने श्रमिकलाई तीनपांग्रे सवारी सञ्चालन गर्न अनुमति दिन काठमाडौँ महानगरले वञ्चित गरेको भन्दै निश्चित समय तोकेर भए पनि अनुमति दिनुपर्ने बताइन्।