शनिबार, वैशाख २६, २०८३

माओवादी पदाधिकारी बैठक

अध्यक्ष प्रचण्डले पार्टीलाई गराए चीन भ्रमणको बिफ्रिङ

चीनसँग भएका सम्झौता तथा समझदारी नेपालको विकासमा दूरगामी महत्त्वका भएको प्रधानमन्त्री प्रचण्डको दाबी।
 |  मंगलबार, असोज १६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १६, २०८०

काठमाडौं– प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसेको छ। बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्रसंघको ७८औं महासभामा सहभागिता अनि चीन भ्रमणमा भएका सम्झौता र सहमतिबारे पार्टीलाई ‘ब्रिफिङ’ गरेका छन्। 

National life

उनले महासभामा सहभागिताबाट विश्व समुदायले नेपाललाई नजिकबाट चिन्ने वातावरण बनेको दाबी गरे। प्रधानमन्त्री प्रचण्डले चीनसँग भएका सम्झौता तथा समझदारी नेपालको विकासमा दूरगामी महत्त्वका भएको उल्लेख गरेको पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।

‘संयुक्त राष्ट्रसंघको महासभामा विश्व समुदायले नेपाललाई नजिकबाट चिन्ने गरी नेपालको प्रस्तुति भएको छ’, प्रधानमन्त्री प्रचण्डको भनाइ उद्धृत गर्दै उनले भने, ‘संयुक्त राष्ट्रसंघका महासचिवसँगको भेट तथा महासभाका क्रममा भएका ‘साइडलाइन’ वार्ता महत्त्वपूर्ण रहे।’

प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय योजना आयोग र चीनको राष्ट्रिय विकास तथा सुधार आयोगबीच सहकार्य तथा अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने, कृषि, विज्ञान प्रविधिलगायत क्षेत्रको विकासका लागि दुई देशबीच भएको सहमति दूरगामी महत्त्वका रहेको बताएको प्रवक्ता सापकाटाको भनाइ छ।

चीनमा राष्ट्रपतिसँग महत्त्वपूर्ण भेटवार्ता भएको र संयुक्त विज्ञप्ति आउनु पनि उपलब्धि भएको प्रचण्डले जिकिर गरेका थिए। बैठकले जनतासँग माओवादी विशेष रुपान्तरण अभियानअन्तर्गत चाडपर्वको अवधिभर घर पाइपमा जनताका काम गर्ने माओवादी केन्द्रले निर्णय गरेको छ। 

यसअघि अन्तरजिल्ला काम गर्दै आएका नेता तथा कार्यकर्तालाई काम गर्न सजिलो बनाइएको हो। १६ भदौदेखि माओवादीले विशेष रूपान्तरण तीन महिने अभियान सञ्चालन गर्दै आएको छ।

दसैँ, तिहार र छठ पर्वमा सहभागी हुन नेता तथा कार्यकर्ता काठमाडौंलगायत देशका विभिन्न सहरबाट घर फर्किन थालेपछि कार्यक्षेत्रलाई लिएर अभियान प्रभावित नहोस् भन्न मोडालिटी परिवर्तन गरिएको पार्टी सचिव दीननाथ शर्माले बताए।

बैठकमा जारी अभियानबारे सामान्य छलफल भए पनि सम्बन्धित प्रदेशको इन्चार्जको रिर्पोटसहित अर्को बैठकमा समीक्षा हुने उनको भनाइ छ। बैठकमा माओवादीले गत १६ भदौदेखि चलाएको रुपान्तरण अभियानबारे पनि छलफल भएको थियो। बैठकले अभियानलाई प्रभावकारी बनाउने निर्णय गरेको छ।

प्रकाशित: Oct 03, 2023| 14:22 मंगलबार, असोज १६, २०८०
प्रतिक्रिया दिनुहोस्