काठमाडौं– अमेरिकी सहयोग परियोजना एमसीसीकी प्रमुख कार्यकारी अधिकृत एलिस अल्ब्राइटले बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेकी छन्। आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रचण्ड र अल्ब्राइटबीच भेटवार्ता भएको हो।
प्रचण्डसँगको भेटमा एमसीसी परियोजनालगायत नेपाल–अमेरिका सहयोगका विविध क्षेत्रमा छलफल भएको प्रधानमन्त्रीको कार्यालयले ट्वीटमार्फत जनाएको छ।
एमसीसीकी सीईओले प्रचण्डसँग भेट्दा परराष्ट्र मन्त्रालयका प्रतिनिधिको उपस्थिति रहेको प्रधानमन्त्रीा प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए।
आइतबार बेलुकी काठमाडौं आइपुगेको अल्ब्राइटसहितको टोलीले सोमबार एमाले मुख्यालय च्यासल पुगेर अध्यक्ष केपी ओलीसँग भेटवार्ता गरेको थियो। आचार्यले प्रधानमन्त्री र अल्ब्राइटसहितको एमसीसी टोलीबीच शिष्टाचार भेट भएको बताए।