काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीन भ्रमणका बेला नेपालको चुच्चे नक्सा नसमेटिएकोबारे चिनियाँ नेताहरुसँग कुरा उठाएको बताएका छन्। नेपालको लिपुलेक, कालापानी र लिम्पियाधुरा नसमेटीकनै चीनले केही एक महिनाअघि आफ्नो नयाँ नक्सा जारी गरेको थियो।
चीनको उक्त कदमपछि नेपालमा नागरिक स्तर, सत्तारुढ कांग्रेसलगायतले विरोध गरे पनि माओवादी नेतृत्वले यसबारे आफ्नो धारणा सार्वजनिक गरेको छैन।साताव्यापी भ्रमण सकाएर आज स्वदेश फर्किएका प्रधानमन्त्री प्रचण्डले त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा नेपालको चुच्चे नक्साबारे यसअघि नै चिनियाँ सरकारसँग कुरा गरिसकेको दाबी गरेका हुन्।
उनले भने, ‘नक्साबारे पहिले नै हामीले कुरा गरेको थियौं। समग्रमा चर्चा भएको छ। यो विषयमा आउने दिनमा अझ सकारात्मक ढंगले जानेछ।’ यद्यपि प्रधानमन्त्री प्रचण्डले नेपालको चुच्चे नक्सा गायब गरिएको विषयमा पहिल्यै विषय उठाइएको भने पनि चीनसँग औपचारिक कुराकानी भएको बाहिर सार्वजनिक भएको छैन। माओवादीकै केही नेताले प्रचण्डको भ्रमणका क्रममा नक्साबारे कुरा हुने दाबी गरेका थिए।
चार वर्षअघि नेपालले लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर जारी गरेको नक्सालाई मान्यता नदिई नेपालको पुरानै नक्सा देखाएर चीनले नयाँ नक्सा जारी गरेको थियो। प्रचण्डको चीन भ्रमणअघि संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा यसबारे कुरा उठेको थियो। प्रधानमन्त्री प्रचण्डलाई चीन भ्रमणका बेला चुच्चे नक्सा गायब पारिएको विषय उठान गर्न समिति सदस्यले सुझाएका थिए।