बिहीबार, जेठ २२, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • परराष्ट्रमन्त्री साउदले भने–प्रधानमन्त्रीको चीन भ्रमण पूर्ण रूपमा सफल

परराष्ट्रमन्त्री साउदले भने–प्रधानमन्त्रीको चीन भ्रमण पूर्ण रूपमा सफल

प्रधानमन्त्रीको चीन भ्रमणका टोलीमा रहेका मन्त्री साउदले आर्थिक एवं कूटनीतिक दृष्टिकोणले प्रधानमन्त्रीको भ्रमण सफल भएको बताएका हुन्।
 |  शनिबार, असोज १३, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, असोज १३, २०८०

vianetvianet

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन औपचारिक भ्रमण सफलतापूर्वक सम्पन्न भएको परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले टिप्पणी गरेका छन्।प्रधानमन्त्रीको चीन भ्रमणका टोलीमा रहेका मन्त्री साउदले आर्थिक एवं कूटनीतिक दृष्टिकोणले प्रधानमन्त्रीको भ्रमण सफल भएको बताएका हुन्।

चीनका राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री लि छ्याङसँग भएका द्विपक्षीय भेटवार्ता महत्त्वपूर्ण भएको र दुई देशका बीच भएका समझदारी एवं सम्झौता पनि नेपालको हित एवं आर्थिक विकासका पक्षमा रहेको बताए।

‘आगामी दिनमा चीनले नेपाललाई उपलब्ध गराउने अनुदान कार्यक्रमलाई प्रभावकारी ढंगबाट अघि बढाउने सहमति भएको छ,’ उनले भने, ‘दुई देशका बीच भएका विभिन्न १३ वटा सम्झौता र समझदारी तथा दुई देशबीचका परम्परागत सबै नाका खोल्ने सहमतिको परिणाम आगामी दिनमा नेपालको हितमा आउनेमा विश्वास छ।’ भ्रमणका क्रममा चीनले लामो समयदेखि नेपाललाई उपलब्ध गराउँदै आएका अनुदान परियोजनालाई प्रभावकारी ढंगबाट अगाडि बढाउने विषयमा कुराकानी भएको र नाका खोल्ने विषयमा चीन सरकार पूर्णरूपमा सहमत भएको उनको भनाइ छ।

अब नाका खोल्ने विषयको प्रक्रिया छिट्टै अगाडि बढ्ने विषय सुनिश्चित भएको पनि मन्त्री साउदको भनाइ छ। ७२ भूकम्प र कोरोना महामारीका कारण बन्द भएका नाका पुनः सञ्चालन गर्ने र केही नाकाको स्तर वृद्धिसमेत गर्ने सहमतिले सीमा क्षेत्रका नागरिकका लागि पनि यो खुसीको विषय भएको उनको भनाइ छ।

त्यसैगरी दुई देशका बीचमा त्यति ठूलो सीमा विवाद नभए पनि सीमालाई अद्यावधिक गर्नुपर्ने भएकाले सीमा क्षेत्रमा निरीक्षणका लागि दुवै देशको संयुक्त टोली बनाइ काम गर्ने सहमति भएको मन्त्री साउदले बताए।

National life insurance

चीनसँग नेपालको व्यापार घाटा कम गर्नका लागि कृषिजन्य वस्तुको उत्पादन र चीन निर्यात गर्न सकिने उनको भनाइ छ। यसका लागि नेपालको कृषि उपजका साथै याक, गाई, चौँरीआदिको प्रजननको व्यवस्था नेपालमा भित्र्याउने विषयमा पनि चीनसँग महत्वपूर्ण सहमति भएको उनले बताए।

कृषि क्षेत्रको विकासका सन्दर्भमा यो सम्झौता महत्वपूर्ण विषय भएको र यसले नेपालको कृषि उपजलाई चीन निर्यात गर्न र नेपालमा कृषिमा आधारित उद्योगधन्दा खोल्न सहयोग पुग्नेमा मन्त्री साउदले विश्वास व्यक्त गरे।

‘हामीकहाँ कृषिजन्य वस्तुको उत्पादन निकै कम छ र त्यसमा पनि निर्यातजन्य वस्तु उत्पादन अझै कम छ,’ मन्त्री साउदले भने, ‘नेपालले लामो समयदेखि केही निर्यातजन्य उत्पादनमा चीन सरकारसँग छुटका लागि पहल गरिरहेको विषयमा पनि महत्वपूर्ण छलफल हुनुलाई भ्रमणको उपलब्धिका रूपमा लिएका छौं।’

मन्त्री साउदले भ्रमणमा चीनका राष्ट्रपति र प्रधानमन्त्रीले पनि नेपाललाई उच्च महत्व दिएर कुराकानी गरेको र नेपालले पनि आफ्नो हित र चासोका विषयमा आफ्ना विषयहरु उच्च तहमै स्पष्टसँग राखेको बताए। उनले विभिन्न विषयमा दुई देशबीच गहनरुपमा छलफल भएको र यसबाट नयाँ समझदारी निर्माण भएको आफूले पाएको बताए।

भ्रमणका क्रममा चीन सरकारले नेपाललाई उच्च महत्त्व दिएको देखिएको बताउँदै मन्त्री साउदले भने, ‘प्रधानमन्त्रीलाई एक औपचारिक कार्यक्रममा नै गार्ड अफ अनर प्रदान गरिएको छ। संयुक्त वक्तव्य प्रकाशित भएको छ र यसमा दुई देशबीचका आपसी हितका महत्त्वपूर्ण विषयलाई समेटिएको छ। राष्ट्रपति र प्रधानमन्त्रीसँगको भेटका क्रममा पनि उच्च महत्वका साथ आफ्ना कुरा राख्ने र नयाँ समझदारी निर्माण गर्ने काम भएकाले यो भ्रमणलाई पूर्णरूपमा सफल मान्नुपर्दछ।’

चीन र नेपालका बीचमा परम्परागतरूपमा नै मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको भन्दै मन्त्री साउदले अहिलेको प्राथमिकता भनेको आर्थिक पक्ष रहेको बताए। उनले नेपाल आर्थिक रूपमा बलियो बन्नका लागि चीनबाट कसरी लाभ लिने भन्ने विषय दुई देशबीचको सम्बन्धको महत्त्वपूर्ण र बलियो पक्ष हो भन्ने आफूलाई लाग्ने बताए।

भ्रमणका क्रममा गरिएको कैलाश मानसरोवरको भ्रमण सो ठाउँ हेर्नका लागि मात्र नभई नेपालको धार्मिक पर्यटन प्रवद्र्धनका लागि स्थलगत निरीक्षण भएको मन्त्री साउदको भनाइ छ।

भारतसहित विश्वका लाखौँ हिन्दु पर्यटकलाई नेपाल हुँदै कैलाश मानसरोवरको भ्रमणको उचित वातावरण बनाउनका लागि सो ठाउँको स्थलगत अध्ययन अवलोकन गरिएको उनले बताए।

यो क्षेत्रमा नेपालको बाटो भएर जान पाए धेरै सजिलो हुने विषय बारम्बार उठ्ने गरेका सन्दर्भमा नेपालका तर्फबाट कैलाश मानसरोवर जान पाउने गरी सडक निर्माणको प्रबन्धका लागि त्यहाँ गएको उनले स्पष्ट पारे।

मन्त्री साउदले हुम्लाको सिमकोटका अतिरिक्त बझाङको उरई र दार्चुलाको तिंकरको बाटो भएर पनि सो क्षेत्रमा पुग्न सकिने गरी अध्ययन भइरहेकाले सोही स्थानमा नै पुगेर अध्ययन गरेको बताए।

चीन नेपाललाई कृषि, प्रविधि एवं अन्य लगानीका क्षेत्रमा सहयोग गर्न चाहन्छ। चीन आर्थिक सम्पन्न मुलुक भएकाले नेपालको पनि आर्थिक विकासमा सहयोग गर्न चाहन्छौँ भनेर चीनले भनिरहेकाले यस्तो खालको समझदारीको वृद्धि गरी आवश्यक कूटनीतिक पहल अघि बढाउन पनि यो भ्रमण फलदायी रहेको भनाइ मन्त्री साउदले राखे।

चीन आउनुअघि संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा प्रधानमन्त्रीस्तरमा सहभागिता जनाएर नेपालले विश्व समुदायलाई शान्ति स्थापना, अतिकम विकसित मुलुकका आवश्यकता तथा जलवायु परिवर्तनले नेपाललाई पारेको प्रभाव र त्यसबाट नेपालले पाउनुपर्ने सुविधालगायतका विषयमा सम्बोधन गरेकाले महासभाको सहभागिता नेपालका लागि महत्त्वपूर्ण रहेको मन्त्री साउदले बताए।

अतिकम विकसित राष्ट्रहरूको मन्त्रीस्तरीय बैठकलाई आफूले अध्यक्षता गरी सामूहिक चासोका बारेमा कुरा भएको पनि उनले जानकारी दिए। ‘नेपाल हाल अतिकम विकसित राष्ट्रहरूको नेताको हैसियतले यसपटक प्रधानमन्त्रीले राष्ट्रसंघीय महासभामा हामीजस्ता विकासशील देशका समस्याका साथै यस्ता देशप्रति विकसित देशको दायित्वका साथै संक्रमणकालीन न्यायका विषयमा पनि राष्ट्रसंघमार्फत विश्व समुदायलाई जानकारी गराउनुभएको छ,’ उनले भने।

साथै, आफूले पनि परराष्ट्रमन्त्रीको हैसियतले विभिन्न देशका विदेशमन्त्रीसँगको द्विपक्षीय भेटवार्ताका क्रममा नेपालको हित र चासोका विविध विषयमा कुरा उठाएको मन्त्री साउदले जानकारी दिए।

प्रकाशित: Sep 30, 2023| 12:59 शनिबार, असोज १३, २०८०
प्रतिक्रिया दिनुहोस्