काठमाडौं– पोखरास्थित मणिपाल अस्पतालमा चिकित्सकमाथि कुटपिट गर्नेलाई पक्राउ गरी कारबाही गर्न र कार्यस्थलमा सुरक्षाको माग गर्दै चिकित्सक विगत तीन दिनदेखि आन्दोलित छन्। नयाँ बानेश्वर चोकमा आन्दोलनरत चिकित्सकले सरकारले माग सम्बोधन चाँडै नगरिदिए इमर्जेन्सी सेवासमेत बन्द गरिने बताएका छन्।
चिकित्सकले यसो भनिरहँदा महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको इमर्जेन्सीमा बिरामीको चाप अधिक रहे पनि त्यसको अनुपातमा डाक्टर नभएको देखियो। दुई–चार चिकित्सकको भरमा इमर्जेन्सी सेवा चलिरहे पनि त्यसका लागि ‘लाइन’बस्नुपर्ने विवशता देखियो।
यस विषयमा टिचिङ अस्पतालको इमरर्जेन्सी वार्डमा कार्यरत चिकित्सक शिव शर्मा अर्याललाई प्रश्न गर्दा उनले भने, ‘बिरामीको मर्कालाई ध्यानमा राखेरै अहिलेसम्म इमर्जेन्सी सेवा उपलब्ध गराइरहेका छौं। सरकारले माग सम्बोधन गरे चिकित्सक चाँडै काममा फर्कन्छन्, नभए इमर्जेन्सी सेवासमेत बन्द गर्नुपर्ने हुन सक्छ।’
चिकित्सक अर्यालले राती ड्युटी गरेर पनि दिउँसो नसुतेर सडक आन्दोलनमा निक्लिएको बताए। ‘हाम्रो मागप्रति सरकार बेलैमा सचेत हुन जरुरी छ। नभए आगामी आन्दोलन इमर्जेन्सी सेवासमेत बन्द हुने गरी ल्याउँछौं। टिचिङ अस्पतालका सबै रेजिडेन्ट चिकित्सक आन्दोलनमा छन्’, उनले भने।
अस्पतालमा चिकित्सकमाथि हातपात हुन थालेपछि आवासीय चिकित्सकहले केही दिनयता काठमाडौंमा विरोध प्रदर्शन गर्दै आएका छन्।