काठमाडौं– एमाले अध्यक्ष केपी ओलीले वर्तमान पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार बदल्ने कोसिस भइरहे पनि कांग्रेस हराउँदा सफल हुन नसकिएको बताएका छन्। आज कोशी प्रदेशको पहिलो अधिवेशन उद्घाटन गर्न विराटनगर पुगेका अध्यक्ष ओलीले विमानस्थलमा पत्रकारलाई यस्तो बताएका हुन्।
उनले भने, ‘यो सरकार सत्तामा रहिरहनु देशका लागि दुर्भाग्य हो। तर, कांग्रेस कुन संसारमा छ भन्ने थाहा नहुँदा विकल्प खोज्न सकिएन।’ प्रचण्ड सरकार अपराधीको संरक्षकको रुपमा देखिएको उनले आरोप लगाए।
प्रचण्ड सरकार हटाउन प्रमुख पार्टीहरु जिम्मेवार हुँदा अर्को विकल्प भए पनि कांग्रेसले यसबारे नसोचेको उनको भनाइ छ। आजदेखि विराटनगरमा सुरु हुने अधिवेशन दुई दिनसम्म चल्नेछ। विराटनगरको होटल मनास्लुमा राखिएको अधिवेशनका लागि ९९७ जना प्रतिनिधि निर्वाचित भइसकेका छन् भने त्यसको ५ प्रतिशत अर्थात् ५० जना मनोनयन हुने बताइएको छ।
अधिवेशनको सबै प्रक्रिया १४ असोजसम्म सक्ने तयारी रहेको प्रदेश इन्चार्ज रघुवीर महासेठले बताए। अधिवेशनमा १३७ पालिका, २३ जनवर्गीय संगठन, दलित, मजदुरसमेत गरी १ हजार ४७ जना प्रतिनिधि र पर्यवेक्षक सहभागी हुनेछन्।