काठमाडौं– एमाले बागमती अधिवेशनमा तीन दिनदेखि नयाँ नेतृत्वको चुनाव गर्ने भनिए समझदारी नहुँदा अहिलेसम्म सुरु हुन सकेको छैन। सर्वसम्मत नेतृत्व चयनका लागि अध्यक्ष केपी ओलीलगायत केन्द्रीय नेतृत्वले आग्रह गरे पनि आकांक्षीबीच सहमति नहुँदा एमाले बागमती प्रदेश कमिटीको नयाँ नेतृत्व चयन गरिन लागेको हो।
बुधबार, बिहीबार निर्वाचन हुने भनिए पनि आकांक्षीहरुबीच सहमति नहुँदा निर्वाचन पछि धकेलिएकामा आज अन्तम उम्मेदवारको नामावली लिस्ट सार्वजनिक गरिएको छ।
आज बिहान प्रकाशित अन्तिम नामावलीमा अध्यक्षका दुई जना मात्र उम्मेदवार मैदानमा छन्। अध्यक्षमा कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेल मात्र प्रतिस्पर्धामा उत्रेका छन्। बिहीबारसम्म पाँच जना अध्यक्षका आकांक्षी थिए।
त्यसैगरी एक उपाध्यक्ष पदका लागि ईश्वरचन्द्र पोखरेल, दावा दोर्जे लामा, नारायणप्रसाद खतिवडा र राजेन्द्र राजथला गरी चार जना मैदानमा छन्। प्रदेश सचिवमा नवराज सिलवाल र हस्तबहादुर पण्डितबीच चुनाव हुने भएको छ। दुई उपसचिवका लागि १० जनाले प्रतिस्पर्धा गर्दै छन्।
आज बिहान ८ बजेबाट मतदान सुरु गर्ने भनिए पनि उम्मेदवारको सूची प्रकाशित गर्न ढिला हुँदा अहिलेसम्म मतदान सुरु भएको छैन। यद्यपि प्रमुख निर्वाचन अधिकृत डिल्ली मैनाली आज निर्वाचन भइछाड्ने बताए।
बिहीबार बेलुकीसम्म सहमतिको प्रयास जारी भएकाले आजका मतदान कार्यक्रम स्थगित गरिएको एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले बताएका थिए।