काठमाडौं- नेकपा एमाले बागमती प्रदेशको पहिलो अधिवेशनमा नेतृत्व चयनका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा सर्वसम्मतीको प्रयास थालिएको छ। यसअघि नै ओलीले सर्वसम्मतीमा नेतृत्व चयन गर्न निर्देशन दिए पनि सहमति जुट्न नसकेपछि पाँच जना नेताहरुले उम्मेदवारी दर्ता गरेका थिए।
बुधबार एमाले पार्टी कार्यालय च्यासलमा जारी निर्वाचन प्रक्रिया अन्तर्गत अध्यक्षमा केशवराज पाण्डे, कैलाश ढुंगेल, कृष्णप्रसाद दाहाल, सानुकुमार श्रेष्ठ र केसर बहादुर बुढाथोकीले उम्मेदवारी दर्ता गरेका थिए। उक्त उम्मदेवारी दर्तापछि बिहीबार मतदान हुने बताइएको थियो। यद्पि सहमतिकै प्रयासका लागि दबाब बढेपछि बिहीबार केशवराज पाण्डेले आफ्नो उमेदवारी फिर्ता लिँदै कैलाश ढुंगेललाई समर्थन गरेका थिए।
बिहीबार पनि सहमति जुट्न नसकेपछि ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी अधिवेशनको निर्वाचन कार्यक्रम संशोधन गरिएको छ।
संशोधित कार्यतालिका अनुसार आज बेलुका ८ बजेसम्म उमेदवारी फिर्ता, ९ बजे उमेदवारको अन्तिम नामावली प्रकाशन गरिने स्थायी कमिटी सदस्य तथा अध्यक्ष मण्डलका सदस्य शेरबहादुर तामाङले जानकारी दिए। सहमति नजुटेमा मतदान शुक्रबार बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालयमा हुने बताइएको छ।
उपाध्यक्षमा पाँचजनाको उम्मेदवारी परेको छ । उपाध्यक्षमा नारायणप्रसाद खतिवडा, दावादोर्जे लामा, सुवासचन्द्र ठकुरी, ईश्वरचन्द्र पोखरेल र राजेन्द्र राजथलाले उम्मेदवारी दिएका हुन्। सचिवमा हस्त पण्डित, नवराज सिलवाल, रत्न गुरुङ र रामकुमार अधिकारीले उम्मेदवारी दर्ता गराएका थिए। यस्तै उपसचिवमा डबल पाण्डे, खड्गबहादुर खत्री, टासी लामा, गंगादेवी श्रेष्ठ, भक्तकुमारी लामा, ओमराज पन्त, कृष्णहरी थापा , ठाकुरप्रसाद गजुरेल र रमेश महर्जनले उम्मेदवारी दिएका छन्।