नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मिसन २०८४ सुरु भएको र एमालेलाई पहिलो शक्ति बनाएर एकल बहुमतको सरकारको नेतृत्व गर्ने दाबी गरेका छन्।
बुधबार सुर्खेतमा एमाले कर्णालीको प्रथम अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले पार्टीलाई बलियो राष्ट्रिय शक्ति बनाएर २०८४ को निर्वाचनमा सत्ता गठबन्धनलाई धोबीले लुगा धोएझैं धोइदिने दाबी गरे। ‘हामीले मिसन ८४ भनेका छौं, यो भनेको साल फेरिने होइन, हामी एकताबद्ध भएर नेतृत्वमा जाने वर्ष हो। ०८४ मा अहिलेको गठबन्धनलाई धोबीले लुगा धोएझैँ धोएर सुकाउँछौं,’ उनले भने।
एमालेले सरकारको नेतृत्वमा जान भन्दा मुलुकमा समृद्धि चाहेकाले पनि एमालेको अबको बाटो मिसन २०८४ रहेको ओलीले बताए। ‘मिसन २०८४ लाई अर्थपूर्ण बनाएर एमालेले एकलौटी सरकार बनाउनेछ’, उनले भने, ‘यो अधिवेशनबाट एमाले विचारमा संगठित छ, संगठनमा एकजुट छ र राष्ट्रियताका सवालमा एकताबद्ध छ भन्ने सन्देश दिन आवश्यक छ। त्यसरी लाग्नुहोस्।’
वर्तमान गठबन्धन सरकारले देशको स्वाधीनतालाई लम्पसार बनाएको ओलीको आरोप छ। अध्यक्ष ओलीले राष्ट्रिय एकता, स्वाधीनता, सार्वभौमसत्ताको रक्षा, सामाजिक न्यायसहितको समृद्धिका लागि एमालेलाई बलियो राष्ट्रिय शक्ति नबनाएसम्म देशले निकास नपाउने दाबी गरे।
अध्यक्ष ओलीले वर्तमान सरकारले नै क्वीन्टलका दरमा सुन तस्करीमा लागेको आरोप समेत लगाए। ‘सत्ता स्वार्थका लागि गठबन्धन सरकार जेसुकै गर्न पनि तयार छ। विमानस्थलमा क्वीन्टल सुन आएको पनि देख्दैन। चेकजाँच मेसिन कराउँदै नजा भन्छ। त्यहाँ बस्नेले लैजा–लैजा भनेर क्वीन्टल सुन बाहिर पठाउँछ,’ उनले भने, ‘यो सरकार आफूले काक्रा चोरेर बियाँ ल्याएर हाम्रो गाला टाँस्न आउँछ।’