काठमाडौं– कांग्रेस जिल्ला कार्यसमिति संखुवसभाका सभापति दीपक खड्काले पदबाट राजीनामा दिएका छन्। कांग्रेसको चौधौं महाधिवेशनअन्तर्गत जिल्ला सभापतिमा निर्वाचित खड्काले आज केन्द्रीय सभापति शेरबहादुर देउवासमक्ष राजीनामा बुझाएका हुन्।
गत मंसिरको निर्वाचनमा एमाले नेता राजेन्द्र गौतमलाई हराउँदै प्रतिनिधिसभामा विजयी खड्काले व्यस्तताका कारण पार्टीको जिल्ला नेतृत्वबाट राजीनामा दिएको घोषणा गरेका हुन्।
उनले आफू प्रतिनिधिसभाको पनि सदस्य भएकाले जिल्ला सभापतिका रुपमा काम गर्न नसक्ने जनाएका छन्। प्रतिनिधिसभामा व्यस्त हुनुपर्दा जिल्लाको पार्टी अभियानमा सहभागी हुन मुस्किल भएपछि सभापति पद त्याग्नुपरेको उनले बताएका छन्।
‘पार्टी संगठनलाई थप सुदृढ गर्न सके हालको उपलब्धि संस्थागत गर्दै नेता तथा कार्यकर्तालाई समेत संरक्षण गर्न सकिन्छ भन्ने मलाई लागेको छ। त्यसका लागि दुरदराजका ग्रामीण इलाकासम्म कांग्रेसको चारतारे झण्डा फहराउँदै संगठन विस्तार एवं जनचाहनाअनुरुपका काम गर्नुपर्ने हुन्छ। तर, म हाल प्रतिनिधिसभा सदस्य रहेकाले यसका गतिविधिमा संलग्न हुन काठमाडौंमा धेरै समय बिताउनुपर्ने हुँदा जिल्ला सभापति पदमा रहेर काम गर्न नसक्ने भएको छु,’ उनले राजीनामापत्रमा भनेका छन्।
उनले पार्टी संगठन सुदृढ गर्न सहज होस् भन्ने चाहनाले कांग्रेस जिल्ला कार्यसमिति सभापति पदबाट राजीनामा दिने निर्णय गरेको बताएका छन्। ‘अतः मेरो राजीनामा स्वीकृत गरी विधानबमोजिम जिल्लाका अन्य साथीबाट सभापति चयन गरी पार्टी संगठन सुदृढीकरणमा परिचालन गर्न र बफादार सिपाहीको रुपमा निरन्तर पार्टी अनि जनताको काममा क्रियाशील रहने प्रतिबद्धतासमेत व्यक्त गर्दछु’, उनले भनेका छन्, ‘म जिल्ला सभापति पदमा नरहे पनि अब बन्ने सभापतिलाई सहयोग गर्दै पार्टीलाई अघि बढाउन तयार छु।’