बिहीबार, वैशाख २०, २०८१

भारत-क्यानडा विवादको असर पर्ला नेपाललाई ?

शक्ति राष्ट्रको मतभेदले गर्दा उनीहरुको मुद्राको स्तर खस्किने गर्छ। यदि अमेरिकाले क्यानडाको साथ दिँदै भारतविरुद्ध व्यापारिक चाबी राख्न खोजे भारतको मुद्रा केही हदसम्म्म निष्क्रिय हुन सक्छ।
 |  बुधबार, असोज १०, २०८०

रमेश लामिछाने रोमस

रमेश लामिछाने रोमस

बुधबार, असोज १०, २०८०

विश्वको दोस्रो ठूलो देश क्यानडा र सातौं ठूलो देश भारतबीच तनाव बढ्दो छ। यही सेप्टेम्बर ९ तारिखमा भारतको नयाँ दिल्लीमा सम्पन्न शक्ति राष्ट्रहरुको सम्मेलन जी-२० मा यी दुई राष्ट्रबीचको तनाव स्पष्ट देखियो। पहिले व्यापारिक र अध्यागमनको दृष्टिमा क्यानडा र भारतको सम्बन्ध ठिकै थियो। बेलाबेला चीनविरोधी एजेण्डामा यी दुवै शक्ति राष्ट्र एकै खेमामा उभिन्थे। अहिले भने दुई देशबीच तिक्तताको स्थिति सिर्जना भएको छ।

triton college

क्यानडा र भारतबीचको विवादको विषय जोडिन्छ सिख समुदायप्रति दुवैको धारणालाई लिएर। सन् २०१५ तिर क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो सत्तामा आउँदा उनको ३० दलिय मन्त्रीमण्डलमा सिख मूलका नेता पनि सामेल थिए। यसैगरी क्यानडा विश्वमा भारतपछि धेरै सिख जनसंख्या (करिब सात लाख) भएको देश हो। जसका कारण क्यानडेलीको सिख समुदायप्रति सहानुभूति भएको मानिन्छ। साथै विगतदेखि नै भारतले क्यानडालाई  भारतीय सिख पृथकतावादीसँग मिलेमतोको आरोप लगाउँदै आएको छ।

यस्तै क्यानडाले पनि भारतका अधिकारीहरुले क्यानडाको आन्तरिक राजनीतिमा हस्तक्षेप गर्न खोजेको आरोप लगाउँदै आएको छ। दुवै राष्ट्रबीच एक आपसमा आरोप- प्रत्यारोप चलिरहेको बेला गत जुनमा क्यानडाको ओन्टारियोमा खालिस्तानी समूहको परेडको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो। फलस्वरुप भारतले क्यानडाप्रति हेर्ने दृष्टिकोण एकाएक परिवर्तन भयो। जसलाई मध्यनजर गरी भारतीय विदेशमन्त्री एस जयसंकरले केही चेतावनी पूर्ण वाक्यांश प्रयोग गरेका थिए।

उक्त धारणाको केही दिनपछि क्यानडाको भानकुभर सहरको एक सिख मन्दिर अगाडि क्यानडेली सिख नेता हरदिप सिंह निज्जरको रहस्यमय ढंगले गोली हानी हत्या गरियो। हत्याको अनुसन्धानका क्रममा क्यानडाको निशाना विस्तारै भारततर्फ सोझिन थाल्यो। त्यसपछि क्यानडाले सेप्टेम्बर र अक्टोबरमा निर्धारित भारतसँग हुने व्यापारिक विषयको छलफलमा सहभागिता जनाउने निर्णय फिर्ता गर्यो। यो घटनाको ताप हालै सम्पन्न जी-२० सम्मेलनको क्रममा पुन: बढेको मान्न सकिन्छ।

को हुन निज्जर ?
भारतको उत्तरी राज्य पञ्जाबको जलन्धरमा जन्मेका हरदिप सिंह निज्जर करिब सन् १९९७ तिर सुखद् भविष्यको खोजीमा क्यानडा पुगेका थिए। त्यहाँ उनी आफ्नी श्रीमती र दुई सन्तानको साथमा प्लम्बरको काम गरी सामान्य जीवन बिताइरहेका थिए। सन् २००७ ताका क्यानडाको नागरिक बनेपछि उनी विस्तारै सिख समुदायमा परिचित हुन थाले। उनी क्यानडामा शान्तिपूर्ण सिख अभियान र अल्पसंख्यक सिख समुदायको पक्षधरको उत्थानमा लागेका कारण लोकप्रिय थिए। यता भारतले भने उनलाई खालिस्तानिहरुको विषय जोडेर आतंकवादीको सूचीमा राखेको थियो। 

corrent noodles
Metro Mart

भारतका सिखहरुले १९८० को दशकदेखि नै आफ्नो लागि अलग राज्य माग गर्दै आएका छन्। जसको लागि उनीहरु सशस्त्र द्वन्द्व र हिंसामा पनि उद्यत छन्। २०१० ताका पञ्जाबको एक होटलमा छ जनाको मृत्यु हुने गरी गराइएको बम विस्फोटमा खालीस्तानी समूहको संलग्नता पुष्टि भएको थियो। भारतले यस घटनाको मुख्य योजनाकारको रुपमा तिनै हरदिप सिंह निज्जरलाई मान्ने गरेको थियो।

उनलाई भारतमा सक्रिय खालीस्तानि टाइगर फोर्स नामको आत‌कवादी संगठनको संस्थापकदेखि आर्थिक स्रोत व्यवस्थापन र तालिममा समेत सक्रियताको आरोप लगाइएको थियो। जस कारण उनी भारतको मस्ट वान्टेड सूचीमा परेका थिए। उनको टाउकाको मोल १० लाख भारु तोकिएको थियो। गत जुनमा उनको हत्या हुनुअघि उनको आफन्तलाई उनको सुरक्षाको खतराका विषयमा जानकारी रहेको र क्यानडाको गोप्य संयन्त्रले उनको हत्या हुन सक्ने आशंका जनाएको थियो भन्ने खुलासा पनि भएको छ।

Modi-Trudeau1695124326.jpg
क्यानडका राष्ट्रपति जस्टिन ट्रुडो र भारतीय प्रधानमन्त्री  नरेन्द्र मोदी

अवस्था
विश्वमा सबैभन्दा धेरै सिख जनसंख्या भएको देश भारतमा सिख समुदाय तेस्रो स्तरमा गनिन्छन्। बहुसंख्यक हिन्दू र मुस्लिमपछि मात्र नाम आउने सिख समुदाय भारतको पन्जाब आसपासका क्षेत्रमा बाहुल्यता रहेको छ। उनीहरु भारतको स्वतन्त्रताको समयमा पाकिस्तान र भारतको विभाजन हुँदा हिन्दूसँग मिलेर लडेका थिए। जसअनुसार उनीहरुलाई मुसलमान समुदायले हिन्दू निकट मान्ने गरेका छन्। पन्जाबको अमृतसरमा भएको स्वर्ण मन्दिर उनीहरुको सर्वोच्च धार्मिक स्थल हो। भारतको सांस्कृतिक क्षेत्रमा प्रचलित भए पनि सिख समुदायले आफूलाई स्वतन्त्र बनाउने इच्छा व्यक्त गरेका जानकारहरु बताउँछन्। पञ्जाब पाकिस्तान र हिन्दुस्तानको सिमावर्ती क्षेत्र भएकाले उनीहरु हिन्दू मुस्लिम युद्धमा पिसिनु स्वाभाविक थियो। जसको असर स्वरुप उनीहरु नयाँ सिख राज्यको स्वायत्तता माग गर्छन् भन्ने गरिन्छ।

आकारमा विशाल भएर पनि करिब चार करोडमात्र जनसंख्या भएको क्यानडा भारतपछि सिख समुदायको दोस्रो मूल घर हो। खासगरी भारतबाटै बसाइँ सरेर गएका सिख समुदायले हाल क्यानडाको करिब २ प्रतिशत जनसंख्या ओगटेका छन्। उनीहरुलाई क्यानडाको तत्कालीन सरकारले पनि महत्व दिने गरेको छ। क्यानडाका हालका प्रधानमन्त्री जस्टिन ट्रुडो सिख समुदायप्रति सहानुभूति राख्छन् भन्ने स्पष्ट तथ्य हो। ट्रुडोले सिख समुदायको शान्तिपूर्ण बसोबासमा योगदान गरेका छन्। उनको र निज्जरको सम्बन्ध राम्रै रहेको र भारतले निज्जरप्रति लगाएको आरोपमा पनि क्यानडाको तर्क अर्कै रहेको छ। निज्जरले ट्रुडो सरकारमा आएसँगै क्यानडा सरकारलाई पत्र लेखी भारतीय विषयमा आफ्नो संलग्नता नरहेको र कुनै पनि कारणले हिंसात्मक विषयमा आफू समावेश नरहेको कुरा व्यक्त गरेका छन्।

प्रभाव
मुख्यत: भारत र क्यानडाको सम्बन्ध क्यानडाको छिमेकी र भारतको पुँजीवादी साझेदार अमेरिकासँग जोडिएको छ। पर्यावरण लगायतका विषयमा साथ दिने र व्यापार नीतिका साझेदार रहँदै आएका दुई विपरीत गोलार्धका यी राष्ट्रबीच मिलेमतो हुने अर्को कारण चीन विरोधी एजेन्डा पनि थिए। तर हाल सिखहरुको विषयले क्यानडामा भारतीय जासुसी संस्थाको निगरानी बढेको र भारतमा क्यानडाका सिखहरुले आतंकीलाई आर्थिक सहायता गर्ने गरेको आरोप लाग्दै आएको छ।

त्यसैले उत्तरमा चीनसँग र पश्चिममा पाकिस्तानसँग आर्थिक, भौतिक र हतियारजन्य युद्ध लड्दै आएको भारतले अब समुन्द्रपारीको देशसँग धार्मिक युद्धको पनि आशंका गरेको छ। जसमा अमेरिकाको साथको महत्व पनि रहेको छ। अमेरिका पनि चीन विरोधी नीतिअनुसार भारतीय स्वार्थको साथी बन्दै आएको छ। यसैबीच रसियाको पक्षमा भारत उभिँदा अमेरिका आफ्नो सदाबहार छिमेकी र स्वभाषी क्यानडाको साथ दिन्छ कि भन्ने छलफल हुन थालेका छन्। अमेरिकाको प्रवेश भएमा यो विषयले पनि विश्वको शक्ति सन्तुलनलाई मज्जाले हल्लाउन सक्ने अनुमान गरिएको छ।

नेपालमा असर
भारतसँग जोडिएका हरेक विवादको असर नेपालमा पनि पर्न सक्दैन भन्नु अपवाद हुन आउँछ। नेपाल र भारतबीचको खुला सिमाना यस्तो असरको कारक तत्व हो। भारतमा बढ्दो आतंकको खतरा भनेकै नेपालको बाटो प्रयोग हुने सम्भावना हो। नेपाल सधैं भारत प्रवेश गर्नका लागि सजिलो बाटोको रुपमा प्रयोग हुँदै आएको छ। जसले गर्दा नेपालमा सुरक्षाको विषय पनि यस घटनाको चासोमा पर्नु स्वाभाविक हो।

शक्ति राष्ट्रको मतभेदले गर्दा उनीहरुको मुद्राको स्तर खस्किने गर्छ। यदि अमेरिकाले क्यानडाको साथ दिँदै भारतविरुद्ध व्यापारिक चाबी राख्न खोजे भारतको मुद्रा केही हदसम्म्म निष्क्रिय हुन सक्छ। नेपालको मुद्राको दर भारतीय मुद्रासँग जोडिएको हुँदा यसले नेपालको आर्थिक सामर्थ्यमा पनि धक्का लाग्न सक्छ। त्यसको साथै मूल्यवृद्धि सामान्य रुपमा बढ्नेछ। तसर्थ नेपाली बजारमा आयातित सामानको अपरिहार्यताले गर्दा भारतमा हुन सक्ने हरेक द्वन्द्व र वैदेशिक विवादको मूल्य केही हदसम्म नेपालले पनि तिर्नुपर्ने बाध्यता रहेको छ।

प्रकाशित: Sep 27, 2023| 15:15 बुधबार, असोज १०, २०८०
प्रतिक्रिया दिनुहोस्