ल्हासा–साताव्यापी चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बेइजिङ भेटघाट सकाएर आज स्वशासित क्षेत्र तिब्बतको ल्हासा आइपुगेका छन्। गत शनिबारदेखि चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड छिङछोङ सहरबाट स्थानीय समयअनुसार दिउँसो १२ बजे ल्हासा आइपुगेका हुन्।
उनलाई ल्हासास्थित गोन्गार विमानस्थलमा तिब्बत सरकारका कार्यकारी उपाध्यक्ष एवं चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत उपसचिव चेन योङ्छीले स्वागत गरे।
प्रधानमन्त्री प्रचण्ड ल्हासास्थित नेपाली महावाणिज्यदूतको कार्यालयमा आज दिउँसो आयोजना हुने अन्तक्र्रियामा सहभागी हुनेछन्। प्रधानमन्त्री प्रचण्डले आजै तिब्बतको पोताला दरबार र जोखाङ मन्दिरको भ्रमण गर्ने कार्यक्रम छ। उनले आजै यहाँको चिनियाँ कम्युनिस्ट पार्टीको सिचाङ स्वशासित क्षेत्रका सचिव वाङ जुनचेङसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् भने ल्हासामै बस्नेछन्।
यसअघि प्रधानमन्त्री प्रचण्ड मंगलबार बेइजिङबाट छिङछोङ सहर आएका थिए। छिङछोङमा रहँदा उनले चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यसँग भेटवार्ताका साथै कृषिका क्षेत्रमा छिङछोङ महानगरले गरेको कामकारे जानकारी लिएका थिए।
यसअघि गत ६ असोजमा उनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट गरेका थिए। प्रधानमन्त्री प्रचण्डले एसियाड स्थल हाङ्जावमा राष्ट्रपति सीसँग संक्षिप्त भेटवार्ता गरेका थिए।
चीनको हाङ्चाव सहरको हाङजाओ विमानस्थलमा उनलाई चीन सरकारका खेलकुद तथा सामान्य प्रशासनमन्त्री एवं चिनियाँ ओलम्पिक कमिटीका अध्यक्ष गाव झिदानले स्वागत गरेका थिए। सो अवसरमा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत छन सोङ पनि उपस्थित थिए।
प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको ७८औंँ महासभालाई सम्बोधन गरेर शुक्रबार राती न्युयोर्कबाट चीन पुगेका थिए। प्रधानमन्त्री प्रचण्ड हाङझाव सहरमा शनिबारदेखि आयोजना गरिएको १९औं एसियन गेमको समुद्घाटन समारोहमा सहभागी भएका थिए।
प्रधानमन्त्री प्रचण्ड आइतबार चीनको राजधानी सहर बेइजिङ गएका थिए। बेइजिङमा सेप्टेम्बर २५ मा चिनियाँ समकक्षी लि छियाङसँग द्विपक्षीय वार्ता गरेका थिए। नेपाल–चीनबीचको द्विपक्षीय वार्तामा १२ बुँदे सम्झौता र एउटा समझदारीपत्रमा हस्ताक्षर भएको छ।
भ्रमणको कार्यसूचीअनुसार प्रधानमन्त्री प्रचण्डले चीनको राष्ट्रिय जनकंग्र्रेसको स्थायी समिति अध्यक्ष झाओ लेजीसँग पनि भेटवार्ता गरे।
यसैगरी उनले चीनस्थित नेपाली दूतावासले आयोजना गरेको चीन–नेपाल लगानी सम्मेलनलाई सम्बोधन गरे। सम्मेलनमा नेपाल र चीनका उद्योगी व्यवसायीको सहभागी थिए।
सम्मेलनमा सहभगिताका लागि नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको टोली चीन पुगेको थियो। प्रधानमन्त्री प्रचण्ड प्रतिनिधिमण्डलसहित सेप्टेम्बर ३० अर्थात् आगामी शनिबार नेपाल फर्कनेछन्।