सोमबार, मंसिर २५, २०८०
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस बैठकमा अर्थतन्त्रको चिन्तादेखि हिन्दू राष्ट्रको मागसम्म

कांग्रेस बैठकमा अर्थतन्त्रको चिन्तादेखि हिन्दू राष्ट्रको मागसम्म

केन्द्रीय सदस्यहरुले नेकपा माओवादीका अध्यक्ष प्रचण्ड नेतृत्वको अहिलेको सरकारमा रहने कि नरहने गम्भीर समीक्षा गर्न माग पनि राखेका छन्।
 |  आइतबार, असोज ७, २०८०
averest bankaverest bank

नेपाल समय

नेपाल समय

आइतबार, असोज ७, २०८०

काठमाडौं- प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक पार्टीको मुख्य कार्यालय सानेपामा बसिरहेको छ। चार असोजदेखि जारी बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम चलिरहेको छ।

sagarmatha cement

आजको बैठकमा पनि समसामयिक विषयमा केन्द्रीय सदस्यहरुले धारणा राखिरहेका छन्। केन्द्रीय सदस्यहरुले नेकपा माओवादीका अध्यक्ष प्रचण्ड नेतृत्वको अहिलेको सरकारमा रहने कि नरहने गम्भीर समीक्षा गर्न माग पनि राखेका छन्। गठबन्धनको नेतृत्वकर्ता कांग्रेस सभापति भए पनि सरकारको नेतृत्व माओवादी अध्यक्षले गर्नु उपयुक्त नभएको उनीहरूको भनाइ छ।

केन्द्रीय सदस्य राजीव ढुंगानाले भने, ‘अहिले हामी सरकारमा मात्र छैनौं, यो गठबन्धनको मूल नेतृत्वकर्ता कांग्रेस नै हो। सरकार अहिले के गरिरहेको छ, त्यसको समीक्षा गरिनुपर्छ।’ महँगी दिन-प्रतिदिन बढिरहेको र सरकारले अनुगमनसमेत नगरेको उनले बताए। उनले थपे, 'भ्रष्टाचारका एक-दुई फाइल खोलिए पनि नेपाली जनताले भ्रष्टाचार घटेको महशुस गरेका छैनन्। शान्ति सुरक्षाको स्थिति ठिक छैन। हाम्रै सहमहामन्त्री महेन्द्र यादवमाथि दिनदहाडै खुकुरी प्रहार भएको छ। ताप्लेजुङमा प्रदेश सांसद खगेन सिङ हाङ्‍नाममाथि प्रहरीले नै गुण्डागर्दी गरेको छ। काठमाडौंमा चार वटा शव एकै ठाउँमा भेटिने घटना भएका छन्।’

केन्द्रीय सदस्य लक्ष्मी परियारले आर्थिक संकटका कारण आपराधिक घटना हुने गरेको बताइन्। उनले भनिन्, ‘आर्थिक संकटलाई कसरी पार लगाउन सकिन्छ? साना व्यवसायी मर्नु न बाँच्नुको अवस्थामा पुगेका छन्, हामी पनि सरकारमा छौं, अर्थमन्त्री नै कांग्रेसको हुनुहुन्छ। महँगी नियन्त्रण गर्नुपर्‍यो।’

केन्द्रीय सदस्य शंकर भण्डारीले विगतको महासमितिको बैठकमा हिन्दू राष्ट्रको पक्षमा बहुमत सदस्यले हस्ताक्षर गरेर बुझाउँदा पनि सभापतिले थन्क्याएर राखेको आरोप लगाए। उनले भने, ‘विगतको महासमितिको बैठकमा हामीले उपस्थित संख्याको बहुमत सदस्यले पैत्रिक सनातन हिन्दू सापेक्ष राष्ट्र हुनुपर्छ भनेर लेखेर दिएको कुरा सभापतिले थन्क्याउनुभएको छ। म महामन्त्रीहरुलाई आग्रह गर्न चाहन्छु- हामी पनि पार्टीबाट निर्वाचित सदस्यहरु हौं। देशभर पार्टीका साथीहरुको आवाज हो। आगामी महासमितिको बैठकमा यसलाई मूल एजेण्डाको रुपमा अगाडि ल्याउनुहोला। नत्र धेरै अफ्ठ्यारो पर्नेछ।’

Metro Mart
worldlink

अहिलेसम्मको अभ्यासले देखिएको र जनताको भावना पनि बुझिसकेकाले संघीयताबारे पुनर्विचार गर्न उनले आग्रह गरे। उनले भने, ‘यो संघीय प्रणाली मुलुकको समग्र हितको लागि मात्रै नभएर राष्ट्रिय सुरक्षाको दृष्टिले पनि खतरा छ। यसबारेमा पार्टीले गम्भिर विचार गर्नुपर्छ। हामीले राष्ट्रिय स्वाधिनता र अखण्डताको कुरा गरिराखेका छौं। केही नेताहरुको बाध्यता होला। संघीय प्रणाली मुलुकको समग्र हित र राष्ट्रिय सुरक्षा दृष्टिकोणले खतरा छ।’

भण्डारीले नेपालको शब्दकोषबाट ॐ शब्द हटाउने विषय आएको हुँदा यस विषयमा सरकारसँग स्पष्ट जानकारी लिनुपर्ने स्पष्ट धारणा राखेका छन्।

अर्का केन्द्रीय सदस्य विनोद चौधरीले पार्टीले देश विकासको स्पष्ट खाका तयार गर्नुपर्नेमा जोड दिए। जारी केन्द्रीय समिति बैठकमा राजनीतिक विषयले मात्रै मुलुक बन्‍न नसक्ने दाबी गर्दै उनले पार्टीले आगामी १० वर्षको विकासको खाका सार्वजनिक गर्नुपर्ने बताएका हुन्।

‘यो पार्टीको अबको दश वर्षको देश विकासको दृष्टिकोण के हो? हाम्रो विकासको खाका कस्तो हुने हो? त्यसको कुनै आधिकारिक दस्तावेज पार्टीको केन्द्रीय समितिबाट पारित भएको जानकारी मलाई छैन,’ उनले भने, ‘देशभित्र र र देशबाहिर रहेका नेपालीहरुले हामीलाई हेरिरहेका छन्। यो पार्टीले राजनीतिको कुरामात्रै गर्छ कि विकासको पनि कुरा गर्छ? देशबाहिर जान बाध्य भएका नेपालीलाई देशमै फर्काउने स्पष्ट रोडम्याप बनाउनुपर्छ।’

उनले पार्टीको केन्द्रीय समिति बैठकमा विकास र आर्थिक एजेण्डामा छलफल गर्नुपर्ने माग समेत गरे। उनले भने, ‘अब अर्को कार्यसमितिको प्रमुख एजेण्डा नै अर्थतन्त्र हुनुपर्छ। एक-दुई दिन आर्थिक मुद्दामा छलफल हुनुपर्छ। विकास निर्माणका कामहरु ठप्प भएका छन्। उद्योगधन्दा ठप्प छन्। उद्यमीको मर्म हामीले बुझ्‍न नसक्ने हो भने नेपाल बाहिर रहेका युवाहरुलाई पार्टीसँग जोड्न नसक्ने हो भने आगामी दिन झनै कठिन हुने देखिन्छ।’
केन्द्रीय सदस्य भीम पराजुलीले राप्रपासँग वार्ता गरेर कोशीमा स्थिर सरकार बनाउन नयाँ समीकरण बनाउनुपर्ने बताए। उनले कोशीमा सत्ता गठबन्धनले राप्रपासँग तालमेल गरेर अघि बढे मात्रै सरकार स्थिर रहन सक्ने बताएका हुन्।

उनले भने, ‘कोशी प्रदेशमा एमालेले विश्वासको मत पाउने देखिँदैन। त्यसैले राप्रपासँग निर्णायक वार्ता गरेर नयाँ समीकरण बनाउनुपर्छ।' पराजुलीले कांग्रेस वैदिक सनातन हिन्दू राष्ट्रको पक्षमा उभिनुपर्ने बताउँदै मुलुकमा भ्रष्टाचार र अनियमितता डरलाग्दो स्थितिमा पुग्दा पनि कांग्रेस मौन बस्न नहुने बताए ।

केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईंले आफूलाई हराउन पार्टीकै जिम्मेवार नेता लागेको आरोप लगाए। आफूलाई हराएर एमालेका गोकुल बास्कोटालाई जिताउन पार्टीकै नेताहरू लागेकाले आफू हारेको उनले तर्क गरे।

उनले भने, ‘म मुलुककै सबैभन्दा बदनाम मान्छेसँग चुनाव लडेको छु। पार्टीकै जिम्मेवार नेताहरू उहाँलाई सघाउन लागे। बालकृष्ण खाण पार्टीको जिम्मेवार नेता। उहाँको दोष कतै देखिएको छैन। उहाँलाई कारबाही गर्न गृहमन्त्री कहाँ जानुभयो। अहिले माओवादी नेताकै बाउछोरा सुन तस्करी प्रकरणमा नाम आउँदा फेरि डेलिगेसन जानुहुन्छ कि हुँदैन? यसरी चलाउने हो भने पार्टी अगाडि बढ्न सक्दैन।’

केन्द्रीय सदस्य नारायणी रायमाझीले जिल्लामा भएका दुई–दुई वटा भातृ संस्थाका कार्यसमिति कुन आधिकारिक भन्दै प्रश्न उठाइन्। उनले भनिन्, 'हाम्रो जिल्ला बारामा दुईवटा महिला संघ छन्, दुईवटा नेविसंघ छन्, दुईवटा तरुण दल छन्। दुवै कांग्रेस हुन् तर कुन चाहिँ आधिकारिक?

केन्द्रीय सदस्य प्रदीप पौडेलले देशको आर्थिक अवस्था डामाडोल भएको बताए। केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्ने क्रममा नेता पौडेलले देशको आर्थिक अवस्था सन्तोषजनक नभएको भन्दै सरकार, निजी क्षेत्र र आम नागरिकबीच सहकार्य आवश्यक भएको बताएका हुन्।

उनले भने, 'रेमिट्यान्स भित्रिएकोमा र विदेशी मुद्रा सञ्चिति भएकोमा हामीले समस्या हल भएको भनेर बुझिरहेका छौं। त्यो होइन। बाह्य समस्या केही हदसम्म समाधान भए पनि भित्रि समस्या झन् झन् बढ्दै गएको छ। यसमा खुसी हुनुपर्ने अवस्था छैन।'

बैंकमा ४ खर्ब रुपैयाँ सञ्चिति रहेको भए पनि पैसा बजारमा नआउनु ठूलो समस्या भएको उनले बताए। चाडपर्वका बेला महँगी बढेको भन्दै बजार अनुमगनमा सरकारले कुनै चासो नदेखाएको उनको भनाइ छ। उनले भने, '३५ प्रतिशत सटर बन्द भएको व्यवसायीहरूले बताएका छन्। खाद्यान्नमा महँगी १४ प्रतिशतले बढेको छ। एक बोरा चामलमा तीन सयसम्म बढेको छ। बैठकले गरेका निर्णयमा मात्रै सीमित नभएर सकारलाई यो काम गर भनेर सभापतिले  भन्न सक्नुपर्यो।'

अनुशासन समितिका संयोजकसमेत रहेका केन्द्रीय सदस्य आनन्द ढुंगानाले प्रमाणका आधारमा मात्रै अनुशासनको कारबाही गर्ने गरिएको बताए। उनले भने, '२५ जिल्लामा महासमिति गठन हुन सकेको छैन। पहिला ती जिल्लाका फाइल हेर्दैछौं। अडियो/भिडियो र प्रमाण हेरेर निर्णय गर्छौं। १४ जना साथीहरूलाई स्पष्टीकरण सोधेका छौं। ११ जना केन्द्रीय सदस्यहरूका विषयमा उजुरी परेको छ।’ उनले समितिले अहिलेसम्म गरेका कामहरू पारदर्शी भएको बताए।

अर्का केन्द्रीय सदस्य श्यामकुमार घिमिरेले समाजमा विकसित नेगेटिभ एटिच्युडका कारण दोष जति सबै कांग्रेसले झेल्नुपर्ने अवस्था रहेको बताए। उनले कांग्रेसले इतिहासमा फेरि एक पटक गम्भीर भएर देशलाई सही दिशामा अघि बढाउन सक्नुपर्ने बताए।

घिमिरेले समाजलाई सही दिशातर्फ डोर्‍याउने काम पनि नेपाली कांग्रेसकै काँधमा रहेको बताए। उनले भने, 'अहिले जताततै आम मान्छे निराश छ, कतै कोही उत्साहित छैन। किन यस्तो भइरहेको छ ? यसबारे गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ।’

उनले देशमा भएजति सबै नराम्रो कामको अपजस कांग्रेसले लिनुपर्ने अवस्था रहेको बताए। ‘जता पनि, जसले पनि कांग्रेसलाई गाली नै गरिरहेको देखिन्छ। हुन पनि आम मान्छेको जीवन समस्यै समस्यामा छ। समाजमा बेरोजगारी छ, पारिवारिक विचलन छ। देशमा राजस्व संकलन बढेको छैन। काम गर्ने जनशक्ति विदेश पलायन भइरहेको छ। देशमा जे भइरहेको छ, त्यसको अपजस सबै कांग्रेसलाई आइपरेको छ। मानौं कि कांग्रेसबाहेक अरु सबैले ठीकठाक गरिरहेका छन्।’

दाइ, खाना कति बेला खाने ?
प्रत्यक्ष प्रशारण भइरहेको बैठक सभापति शेरबहादुर देउवाले चलाइरहेका छन्। अरु बोल्दा पनि देउवाको माइक बन्द हुँदैन। उनले बेला बेलामा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सचिवहरूसँग गरेको संवाद पनि सुनिन्छ।

आज ९ बजे बैठक सुरु गरेका सभापतिले दिउँसो १ बजे सक्ने कुरा बताएका थिए। तर धारणा राख्ने केन्द्रीय सदस्य बढेपछि बैठक लम्बिने देखिएको छ। आज देउवासहित महामन्त्रीद्वय, नेता शेखर कोइरालसहित देउवा मुस्लिम संघको तेस्रो केन्द्रीय महाधिवेशन कार्यक्रममा जानु पर्नेछ। महाधिवेशन २ बजे उद्घाटन गर्ने कार्यक्रम छ।

केन्द्रीय समिति बैठकमा शिव हुमागाईं धारणा राख्दै गर्दा सभापति देउवाले महामन्त्री थापालाई सोधे, ‘उता कति बजे बोलाएको? मुस्लिमकोमा कति बजे छ?’

जवाफमा महामन्त्री थापाले भने, ‘३ बजे बोलाएको छ। एकछिन चलाएर ब्रेक गरेर आजलाई बन्द गर्दिने।’ देउवाले फेरि सोधे, ‘अनि भोलि आउने? ठीक छ, ठीक छ।’  

देउवाले भोलिको खानाको बारेमा पनि महामन्त्री थापालाई प्रश्न गरे- भोलि खाना खाएर आउने कि खाना यहिँ खाने ?’

महामन्त्री थापाले सभापति देउवालाई आजको खानाको बारेमा पनि सोधे, ‘दाइ खाना कतिबेला खाने?’ जवाफमा देउवाले भने, ‘अहिले एकछिनमा खाने यहाँ।’

प्रकाशित: Sep 24, 2023| 12:51 आइतबार, असोज ७, २०८०
kumari bankkumari bank
Everest bankEverest bank
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्