काठमाडौं– मित्रराष्ट्र चीनको साताव्यापी भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट गरेका छन्। आज चीन पुगेका प्रधानमन्त्री प्रचण्डले एसियन गेमस्थल हाङ्जावमा राष्ट्रपति सीसँग संक्षिप्त भेटवार्ता गरेका हुन्। द्विपक्षीय भेटवार्ता हुन बाँकी छ।
एसियन गेम्स उद्घाटन समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड अमेरिकाको न्युयोर्कबाट आज हाङ्जाव सहर पुगेका थिए। चीनको हाङ्चाव सहरको हाङजाओ विमानस्थलमा उनलाई चीन सरकारका खेलकुद तथा सामान्य प्रशासनमन्त्री एवं चिनियाँ ओलम्पिक कमिटीका अध्यक्ष गाव झिदानले स्वागत गरे।
सो अवसरमा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत छन सोङ पनि उपस्थित थिए। प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको ७८औँ महासभालाई सम्बोधन गरेर शुक्रबार राती न्युयोर्कबाट चीन पुगेका हुन्।
प्रधानमन्त्री प्रचण्ड आजदेखि हाङझाव सहरमा आयोजना गरिएको १९औं एसियन गेमको समुदटन समारोहमा सहभागी हुनेछ। प्रधानमन्त्री प्रचण्ड उक्त कार्यक्रमपछि चीनको राजधानी सहर बेइजिङ आउनेछन्। बेइजिङमा सेप्टेम्बर २५ मा चिनियाँ समकक्षी लि छियाङसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ।
उक्त भेटवार्तापछि प्रधानमन्त्री प्रचण्डले चीनको छोङछिङ महानगरपालिकामा चीनले कृषि र औद्योगिक क्षेत्रमा गरेको विकास अवलोकन गर्नेछन्। सो क्षेत्रमा आधुनिक कृषि प्रणालीका साथै चीनले अपनाएको आधुनिक खेती प्रणालीबारे पनि जानकारी लिनेछन्। महानगरले कृषि तथा प्रविधिको क्षेत्रमा छोटो समयमै उच्च सफलता हासिल गरेकाले सो विषयमा अध्ययन अवलोकन गर्ने कार्यक्रम छ।
भ्रमणको कार्यसूचीअनुसार प्रधानमन्त्री प्रचण्डले चीनको राष्ट्रिय जनकंग्र्रेसको स्थायी समिति अध्यक्ष झाओ लेजीसँग पनि भेटवार्ता गर्नुहुने कार्यसूची छ। यसैगरी उनले चीनस्थित नेपाली दूतावासले आयोजना गर्ने चीन–नेपाल लगानी सम्मेलनलाई सम्बोधन गर्नेछन्।
सम्मेलनमा नेपाल र चीनका उद्योगी व्यवसायीको सहभागिता रहनेछ। सो अवसरमा नेपाल र चीनबीच लगानीका क्षेत्र पहिचान गर्नुका साथै लगानी प्रवद्र्धनका लागि आवश्यक मार्ग प्रशस्त गरिनेछ। सम्मेलनमा सहभगिताका लागि नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा नेपालका उद्योगी व्यवसायी पनि चीन आइपुगेका छन्।
त्यसपछि प्रधानमन्त्री प्रचण्ड नेपालसँग सीमाना जोडिएको चीनको तिब्बत स्वशासित क्षेत्रको भ्रमणमा जानेछन्। तिब्बतमा रहँदा पनि उनले त्यहाँका उच्चपदस्थ अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ। प्रधानमन्त्री प्रचण्ड प्रतिनिधिमण्डलसहित सेप्टेम्बर ३० मा नेपाल फर्कने कार्यक्रम छ।–रासस