शनिबार, असार १४, २०८२

बीपी साहित्य महोत्सव

'गिरिजालाई बीपीले उम्मेदवार नबनाएपछि भुटान कांग्रेस खोल्‍नुभयो'

 |  बुधबार, असोज ३, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, असोज ३, २०८०

vianetvianet

काठमाडौं- नेपाली कांग्रेसले आयोजना गरेको बीपी साहित्य महोत्सव समापनको दिन 'परिवारले बुझेका बीपी शीर्षकको प्यानल डिस्कसन गरिएको छ। उक्त सेसनमा बीपी पुत्र डा. शशांक कोइराला, गिरिजा प्रसाद कोइराला पुत्री सुजाता कोइराला र डा. शेखर कोइराला सहभागी थिए। 

उक्त सेसनमा तीन दाजुबहिनीले आ-आफूले पद नपाएको गुनासो गर्दै बीपी पदका लागि लालायित नहुने नेता बताएका छन्। सेसनकै क्रममा उठेको एक प्रसंगमा नेपाली कांग्रेसका पूर्व सभापति र पूर्वप्रधानमन्त्रीसमेत भइसकेका गिरिजाप्रसाद कोइराला टिकट नपाएपछि भुटान गएर भुटान कांग्रेस स्थापना गरेको बीपी पुत्र शशांक कोइरालाले बताएका छन्। 

उनले भने, 'मलाई एउटा सम्झना आयो। मोरङ-सुनसरी त्यो बेला एउटै जिल्ला थियो। त्यहाँ सभापतिको उम्मेदवार को बन्‍ने भन्‍ने कुरा चलिरहेको थियो। त्यहाँ बीपी कोइराला हुनुहुन्थ्यो, गिरिजा बाबु हुनुहुन्थ्यो। अरु पनि हुनुहुन्थ्यो, अरुको नाम नलिउँ। एकजनाले 'गिरिजाबाबु धेरै साथीहरुसँग घुलमिल गर्ने व्यक्ति र सभापति गिरिजाबाबु नै हुनुपर्छ' भन्‍ने कुरा गर्नुभयो। तर, अर्को एकजना साथीले 'तर, होइन बीपी कसरी तपाईंको भाई नै सभापति हुन्छ?' कुरा राख्‍नुभयो। त्यसपछि बीपीले गिरिजाबाबुलाई बोलाए - ए! गिरिजा तपाईं लड्छ कि क्या हो भनेर सोध्‍नुभयो। सोध्‍नेबित्तिकै बुझिहाल्नुभयो गिरिजाबाबुले कि मलाई लड्‍न दिनुहुन्‍न भनेर। जुन व्यक्तिले गिरिजाबाबुलाई उम्मेदवार हुनुपर्छ भनेका थिए, त्यो व्यक्तिले के भन्‍यो भने - गिरिजा उठ्‍नुपर्छ र हार्नुपर्छ। त्यसपछि गिरिजाबाबु बोरियाविस्तर बाँधेर भुटान जानुभयो। ६ महिना भुटान बस्‍नुभयो। र, भुटानमा भुटान कांग्रेस खोल्‍नुभयो। अहिलेको पार्टी जुन छ नि त्यो उहाँले खोलेको। त्यसैले गिरिजाबाबु चुप लागेर बस्‍ने मान्छे होइन।' 

त्यसअघि बोल्दै गिरिजापुत्री सुजाताले अहिले अनपपुलर व्यक्ति नै निरन्तर सत्तामा बसेको बताएकी थिइन्। उनले शशांकतर्फ संकेत गर्दै भनिन्, 'तिमीलाई भनेको होइन, यहाँ केही अपवाद पनि छन्। तर, लिडरसिपको गल्तीलाई नस्वीकार्ने, भन्दै नभन्‍ने र नेतृत्वको राम्रो कुरा मात्रै गर्ने। दाइ तपाईं त बेस्ट भन्‍ने। अपोजिसनको कुरा पनि नसुन्‍ने त्यसले गर्दा पार्टी कमजोर भएको छ। पार्टीलाई बचाउनुस्। आफूलाई पनि परिवर्तन गर्नुपर्छ। अनपपुलर मान्छेले राज्य चलाइरहेका छन्।' 

त्यसअघि डा. शशांकले चार पटक चुनाव जित्दा पनि एकचोटी पनि मन्त्री नबनेको गुनासो गरेका थिए। उनले भने, 'चारर चोटी जिते, केही चमात्कार गर्न सकिनँ । मन्त्री एकचोटी पनि भएको छैन। महिलाहरुको हृदय छुने भाषण गरेर उनीहरुलाई टार्गेट गरेर जाँदा चुनाव जितेको हुँ। २०६४ सालमा म कसैलाई चिन्थेनँ, मानिसहरुको नाम रटेर जाने गर्थे। अहिले महिलाहरुलाई प्राथमिकता दिन्छन् र मैले त्यही भएर चुनाव जितेँ। 

१४ औं महाधिवेशनमा सभापतिका उम्मेवार बनेका डा. शेखर कोइरालाले भने १५औं महाधिवेशनमा पनि एक ठाउँमा उभिन जटिल भएको बताएका छन्। उनले भने, '१५ औं महाधिवेशनमा पनि हामी तीनै जना एक ठाउँमा उभिन सकियो भने राम्रो हो। तर, जटिल के छ भने पार्टीमा विभिन्‍न विचार समूह छन् र हुन्छन्। पोजिसनका लागि लडाइँ हुन्छ। त्यसलाई यसलाई अन्यथा लिइँदिन भएन।' 

प्रकाशित: Sep 20, 2023| 19:13 बुधबार, असोज ३, २०८०
प्रतिक्रिया दिनुहोस्