मंगलबार, वैशाख २९, २०८३

डिजिटल विभाजनप्रति कृषिमन्त्री भुसाल चिन्तित

नेपाल अल्पविकसित मुलुकको स्थितिबाट उत्तीर्ण हुनै लागेको कृषिमन्त्री वेदुरामको धारणा।
 |  सोमबार, असोज १, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असोज १, २०८०

काठमाडौं– कृषि तथा पशुपक्षी विकासमन्त्री डा. वेदुराम भुसालले विकसित र विकासोन्मुख राष्ट्रबीचको प्राविधिक र डिजिटल विभाजनप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। ‘वर्तमान विकासका चुनौतीहरूः विज्ञान, प्रविधि र नवप्रवद्र्धको भूमिका’ नारासहित क्युबाको हवानामा भएको जी– ७७ र चीनको शिखर सम्मेलनमा अतिकम विकसित देशहरूको समूहका तर्फबाट बोल्दै मन्त्री भुसालले यस्तो चिन्ता व्यक्त गरेका हुन्। 

National life

मन्त्री भुसालले भने, ‘हामीले विकसित राष्ट्रबाट प्रविधि हस्तान्तरण गर्ने, शिक्षा प्रणालीमा समाहित गर्ने र प्राविधिक उद्यमशीलतालाई प्रोत्साहन गर्ने ठोस प्रतिबद्धताका बाबजुद दशकौं बितिसक्दा पनि कार्यान्वयन हुन नसकेको प्रविधि हस्तान्तरणका लागि जोड दिनुपर्छ।’ मन्त्री भुसालले अति कम विकसित राष्ट्र (एलडीसी) का लागि दोहा कार्ययोजना कार्यान्वयन गर्न ग्लोबल साउथको सहयोगको लागि आह्वान गरेका छन्। 

उक्त कार्ययोजनाले एलडीसीमा एसटीआईको विकासलाई प्रमुख प्राथमिकताको रूपमा प्रस्तुत गरेको छ।  मन्त्री भुसालले नेपालको विकास नीति र प्राथमिकताबारे प्रकाश पार्दै अल्पविकसित मुलुकको स्थितिबाट उत्तीर्ण हुने तयारी गरिरहेको बताए।

मन्त्री भुसालले क्युवाका कृषि मन्त्री यडेल ब्रिटोसँग पनि भेट गरेका छन्। समकक्षीसँगको भेट कृषिको यान्त्रिकीकरण र प्रविधिको सहयोगमा कृषि उत्पादनलाई कसरी बढाउन सकिन्छ भन्ने विषयमा केन्द्रित रहेको संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगबाट जारी विज्ञप्तिमा उल्लेख छ।

मन्त्री भुसालले शिखर सम्मेलन आयोजना गरेकामा समकक्षी ब्रिटोलाई बधाइ दिएको कृषि मन्त्रालयले जनाएको छ। १५ र १६ सेप्टेम्बर २०२३ सम्म भएको शिखर सम्मेलनमा नेपालको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री भुसाल १४ सेप्टेम्बरमा हवाना पुगेका थिए। 

प्रकाशित: Sep 18, 2023| 12:36 सोमबार, असोज १, २०८०
प्रतिक्रिया दिनुहोस्