मंगलबार, वैशाख २९, २०८३

असोज १५ देखि अनलाइनबाट कम्पनी दर्ता

कम्पनी दर्ता तथा प्रशासनसम्बन्धी सेवालाई छिटोछरितो, विश्वसनीय तथा प्रविधिमैत्री बनाउन कम्पनी दर्तालाई अनलाइनका माध्यमबाट गर्न लागिएको हो।
 |  मंगलबार, भदौ २६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २६, २०८०

काठमाडौं– कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता हुने प्राइभेट लिमिटेड तथा पब्लिक लिमिटेड कम्पनी आगामी १५ असोजदेखि अनलाइन माध्यमबाट दर्ता हुने भएका छन्।

National life

कम्पनी दर्ता तथा प्रशासनसम्बन्धी सेवालाई छिटोछरितो, विश्वसनीय तथा प्रविधिमैत्री बनाउन कम्पनी दर्तालाई अनलाइनका माध्यमबाट गर्न लागिएको कम्पनी रजिस्ट्रारको कार्यालयका उपरजिस्ट्रार शेखर बाबु कार्कीले जानकारी दिए।

‘नयाँ कम्पनी अनलाइनबाट दर्ता गर्ने व्यवस्था असोज १५ बाट पूर्ण रुपमा लागू हँुदै छ। नवीकरण भने केही समय भौतिक रुपमा र त्यसपछि अनलाइनबाटै गर्ने तयारी गरेका छौं,’ उपरजिस्ट्रार कार्कीले भने।

कम्पनी रजिस्ट्रारको कार्यालयले प्रयोग गरिहेको पुरानो सफ्टवेयर परिवर्तन भएको र नयाँ सफ्टवेयर ल्याएपछि तथ्यांक स्थानान्तरण (डाटा माइग्रेसन) का लागि केही समय लाग्ने उनको भनाइ छ। सोही कारण नवीकरणका काम भने भौतिक रुपमै हुनेछन्।

अनलाइनबाट दर्ता हुने कम्पनीले कम्पनीको छाप तथा कम्पनीको तर्फबाट सम्बन्धित कागजातमा हस्ताक्षर गर्न अनुमतिप्राप्त कम्पनीको अध्यक्ष, सञ्चालक वा कम्पनी सचिवको नमुना हस्ताक्षर विद्युतीय सूचना प्रणालीमा उपलब्ध गराउनुपर्नेछ।

केही समयका लागि हाल प्रचलनमा रहेको भौतिक कागजात पेस गरी सेवा लिने वा विद्युतीय हस्ताक्षरमार्फत कागजात पेस गरी डिजिटल सेवा लिने भनी विकल्प उपलब्ध गराइने कार्यालयले जनाएको छ। विद्युतीय हस्ताक्षरमार्फत सेवा माग गर्न इच्छुक कम्पनीले सरकारबाट विद्युतीय हस्ताक्षरको साँचो (की) लिनुपर्नेछ।

चालू आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम र बजेटले कम्पनी दर्तालगायतका काम विद्युतीय माध्यमबाट गर्ने व्यवस्था राखेको थियो। कागजरहित सरकार (पेपरलेस गभर्नेन्स)को अवधारणालाई मूर्त रुप दिन सरकारका सबै संघीय केन्द्रीय निकायमा क्रमशः एकीकृत कार्यालय व्यवस्थापन प्रणाली लागू गर्ने पनि सरकारको योजना छ।

त्यस्तै, सार्वजनिक सेवाबापत बुझाउनुपर्ने सबै दस्तुर र सेवाशुल्क ‘क्यूआर कोड’लगायत विद्युतीय माध्यामबाट राजस्व खातामा जम्मा गर्न सकिने व्यवस्था मिलाइने पनि वार्षिक बजेटमा उल्लेख छ।

प्रकाशित: Sep 12, 2023| 16:31 मंगलबार, भदौ २६, २०८०
प्रतिक्रिया दिनुहोस्