बिरामीको मृत्यु भएको विषयलाई लिएर मोरङको लेटाङमा तनाव सिर्जना भएको छ। मृतकका आफन्त र स्थानीयले स्थानीय जनप्रिय मेडिकल अगाडि शव राखेर प्रदर्शन गरिरहेका छन्।
लेटाङ नगरपालिका-४ की ३० वर्षीया विना भनिने विनिता तामाङको मृत्यु भएको विषयलाई लिएर अवस्था असामान्य भएको हो। बिरामी परेपछि विनालाई परिवारका सदस्यले भदौ २२ गते शुक्रबार लेटाङ-४ कै जनप्रिय मेडिकलमा लगेका थिए।
सामान्य उपचार गराएर घर फर्काइएकी उनको स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि सोमबार पुनः सोही मेडिकलमा पुर्याइयो। बिरामीको स्वास्थ्य खराब रहेको भन्दै मेडिकलले सुविधा सम्पन्न अस्पतालमा लैजानु भनेर रेफर गरिदिएको थियो। तामाङलाई थप उपचारका लागि सोमबार साँझ विराटनगरको विराट नर्सिङ होममा भर्ना गरिएको थियो।
उपचारकै क्रममा मंगलबार बिहान ६ बजेतिर उनको मृत्यु भएको प्रहरीले जनाएको छ। आफन्त र परिवारका सदस्यले भने शव लगेर मेडिकल अगाडि राख्दै प्रदर्शन र नाराबाजी गरिरहेका छन्। मेडिकल सञ्चालकलाई कारबाही हुनुपर्ने माग उनीहरूको छ। मेडिकल तोडफोडको प्रयाससमेत भएको प्रहरीले जनाएको छ।
समयमै रोग पत्ता नलगाएको र उपचारका नाममा झुलाउने काम गरेको भन्दै आफन्त एवं परिवारका सदस्य मेडिकलप्रति आक्रोशित बनेका हुन्। करिब २ सयको संख्यामा भेला भएको भीडले मेडिकलविरुद्ध नाराबाजी गर्दै कारबाहीको माग राखेर प्रदर्शन गरिरहेको प्रहरीले जनाएको छ।
स्थितिलाई नियन्त्रणमा लिन र अवस्था थप तनावग्रस्त हुन नदिन इलाका प्रहरी कार्यालय लेटाङ, पथरी एवं बेलबारीबाट ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।