सोमबार, असार १६, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • नाडा अटो शो उद्घाटन गर्दै अर्थमन्त्रीले भने- देशभित्रै गाडी उत्पादन गर्ने वातावरण बनाउँछौं

नाडा अटो शो उद्घाटन गर्दै अर्थमन्त्रीले भने- देशभित्रै गाडी उत्पादन गर्ने वातावरण बनाउँछौं

 |  मंगलबार, भदौ २६, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २६, २०८०

vianetvianet

काठमाडौं- नाडा अटो शोको १५औं संस्करण सुरु भएको छ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको अटो शो अर्थमन्त्री डा. प्रकाशशरण महतले उद्‍घाटन गरेका छन्।

अटो शो भदौ ३१ गतेसम्म सञ्चालन हुनेछ। नेपालकै सबैभन्दा ठूलो सवारी मेलाको शीर्ष प्रायोजक टाटा मोटर्स जेन्युन आयल रहेको छ भने सहप्रायोजकमा शिखर इन्स्योरेन्स छ। अटो शोलाई कोभिडपछिकै सबैभन्दा धेरै आर्थिक गतिविधि हुने थलोका रुपमा लिइएको छ।

यो प्रदर्शनीमा ठूला तथा साना गरी १२० वटा स्टल र ब्लक छन्। प्रख्यात अन्तर्राष्ट्रिय ब्राण्डका सवारी, लुब्रिकेन्ट, टायर, पार्टपुर्जाका साथै राष्ट्रिय ब्राण्डका अटो सामग्री उत्पादक एवं वस्तु तथा सेवा प्रदायकको अटो शोमा सहभागिता छ।

प्रदर्शनीमा १६ ब्राण्डका चार पांग्रे, २२ वटा ब्राण्डका दुई पांग्रे, ७ ब्राण्डका लाइट कमर्सियल भेहिकल, ९ वटा वित्तीय संस्था तथा ३० वटा लुब्रिकेन्ट, टायर, ब्याट्री, पार्टपुर्जा एवं अन्य उपकरण कम्पनी सहभागी छन्।

आयोजकले अटो शोमा २० अर्ब रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरेको छ। शो उद्घाटन गर्दै अर्थमन्त्री महतले नेपालमै गाडी उत्पादन गर्ने वातावरण बनाउन सरकारले ध्यान दिने बताए। उनले विदेशबाट आयात गर्दा मूल्य महँगो भएको भन्दै निजी क्षेत्रलाई देशभित्रै उत्पादन गर्नका लागि सहयोग गर्न सरकार तयार रहेको बताएका हुन्। ‘नेपालमा अब डिलरभन्दा पनि गाडी उत्पादन गर्नतर्फ सरकारले ध्यान दिनेछ’, उनले भने।

निजी क्षेत्र अर्थिक रुपान्तरणको इन्जिन रहेको भन्दै अर्थमन्त्री महतले लगानी प्रवर्धनका लागि सरकारले सहयोग गर्ने आश्‍वासन दिए। उनले निजी क्षेत्रको माग अनुसार जग्गाको कित्ताकाट खुलाएको र यसले अटो व्यवसाय पनि बढाउने बताए।

‘निजी क्षेत्रका समस्यालाई सरकारले महत्त्व दिएको छ’, उनले भने। उनले वाह्य सूचकमा निकै सुधार भएकाले अब अर्थतन्त्र सकारात्मक हुने दाबी गर्दै निजी क्षेत्रलाई निर्धक्क भएर लगानी बढाउन आग्रह गरे। उनले इभीको आयात बढाउनुपर्नेमा जोड दिए।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले श्रीलंकाको जस्तै खराब स्थिति हुन्छ भनेर आयातमा प्रतिबन्ध लगाउँदा राजस्व संकुचनमा परेको भन्दै मन्त्रालयहरुबीच समन्वय बढाउनुपर्नेमा जोड दिए।  ‘श्रीलंकाको त्रास देखाएर ल्याइएका नीतिले अटो व्यवसाय समस्यामा पुग्यो। राजस्व खुम्चिनुको कारण अटो क्षेत्र हो’, उनले भने, ‘अत्याउने भन्दा पनि सरकारको नीति आर्थिक क्रियाकलाप बढाउनतिर केन्द्रित हुनुपर्छ।’

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले उच्च ब्याजदरका कारण निजी क्षेत्रले लगानी बिस्तार गर्न नसकेको बताए। उनले निजी क्षेत्रको मनोबल बढाउन सरकारले कुनै कदम नचालेको आरोप लगाए। ‘लिलामीका सूचनाले पत्रपत्रिका भरिएका छन। यसले देशको अर्थतन्त्रलाई छर्लङ्ग हुन्छ’, उनले भने।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सरकार र निजी क्षेत्र मिलेर अगाडि बढे पनि नियामक निकायले सहयोग नगरेको आरोप लगाए। ‘रेगुलेटर बडिले व्यवसायीलाई दु:ख मात्र दिइरहेका छन्’, उनले भने। मल्लले अटो शोले बजारलाई भाइब्रेन्ट बनाएको बताए।

नाडा अटोमोबाइल एसोसियसन अफ नेपालका अध्यक्ष ध्रुव थापाले गाडीलाई विलासिताको वस्तुबाट हटाइ अति आवश्‍यक वस्तुमा वर्गीकरण गर्न अर्थमन्त्री महतसँग आग्रह गरे।

उनले इभीको कर स्थिर राख्‍न समेत सरकारको ध्यानाकर्षण गराए । ‘अस्थिर नीतिले इभीका लागि धेरै कठिन परिस्थिति सिर्जना भएको छ’, उनले भने। सवारी कर्जाको जोखिम भार ७५ प्रतिशत कायम गर्न पनि उनले अर्थमन्त्रीको ध्यानाकर्षण गराएका छन्।

प्रकाशित: Sep 12, 2023| 15:58 मंगलबार, भदौ २६, २०८०
प्रतिक्रिया दिनुहोस्