काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशस्थित नेपाली दूतावासका राजदूतहरूलाई नेपाली श्रमिक तथा कामदारको हितलाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिएका छन्।
विदेश रोजगारसम्बन्धी समस्या र तिनको समाधानसम्बन्धी दुई दिवसीय छलफलमा सहभागी प्रधानमन्त्री प्रचण्डले श्रम गन्तव्य मुलुकबाट आएका राजदूत र नियोग प्रमुखसँग नेपाली कामदारले भोग्नुपरेको समस्या समाधान हुने गरी काम गर्न निर्देशन दिएका हुन्।
सरकारले पहिलो पटक विदेशस्थित नेपाली राजदूतहरूलाई बोलाएर नेपाली श्रमिक तथा कामदारले भोग्नुपरेका समस्या र कठिनाइबारे छलफल गरेको हो। कार्यक्रममा राजदूतहरूले आफ्नो रिपोर्ट राख्नुका साथै आगामी कार्ययोजनासमेत निर्माण गरिएको छ।
प्रधानमन्त्री प्रचण्डले अन्तरक्रियामा राजदूतले उठाएका विषय सम्बोधन गर्दै अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्ध, नेपालको पर्यटन प्रवद्र्धन र विदेशमा कार्यरत नेपाली श्रमिकको हितलाई केन्द्रमा राखेर काम गर्न जोड दिएका हुन्।