सोमबार, असार १६, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • नेम्वाङ लोकतान्त्रिक आन्दोलनका उदाहरणीय नेता : उपप्रधानमन्त्री श्रेष्ठ

नेम्वाङ लोकतान्त्रिक आन्दोलनका उदाहरणीय नेता : उपप्रधानमन्त्री श्रेष्ठ

 |  मंगलबार, भदौ २६, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २६, २०८०

vianetvianet

काठमाडौं- उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले संविधानसभा अध्यक्ष एवं पूर्वसभामुख सुवास नेम्वाङको निधनबाट सिंगो राष्ट्र शोकाकुल भएको बताएका छन्। 

महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा पुगेर नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्ने क्रममा उपप्रधानमन्त्री श्रेष्ठले सञ्चारकर्मीसँग नेपालको कम्युनिस्ट तथा लोकतान्त्रिक आन्दोलनका एक उदाहरणीय नेताको निधनबाट सबै शोकाकुल भएको बताएका हुन्।

'नेपालको राजनीतिक तथा लोकतान्त्रिक परिवर्तनलाई संस्थागत गर्ने नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएकामा नेम्वाङलाई नेपाली जनताले पुस्तौँपुस्तासम्म स्मरण गरिरहनेछन्,' श्रेष्ठले भने।

संविधानसभा अध्यक्ष नेम्वाङको निधनबाट नेपालको राजनीति, समाजलाई क्षति पुगेको उपप्रधानमन्त्री श्रेष्ठले बताए। 'उहाँ (नेम्वाङ) संविधानबाट संविधान घोषणा गर्ने कुशल नेतामात्र हुनुहुन्थेन, उहाँ संसदीय अभ्यासमा सिद्धहस्त लोकतान्त्रिक नेतासमेत हुनुहुन्थ्यो,' उनले भने। संसद्मा कुनै विषय जटिल बन्यो भने सबैले नेम्वाङको खोजी गर्ने गरेको स्मरण गर्दै श्रेष्ठको भनाइ छ, 'नेम्वाङले त्यसलाई निकास निकाल्नुहुन्थ्यो।'

अनुचित लेनदेन वा मिटरव्याजीसम्बन्धी विधेयक संसद्मा जटिल अवस्थामा पुगेको अवस्थामा त्यसलाई संसद्बाट पारित गरेर कानुन बनाउने दिशातर्फ निर्णायक भूमिका खेल्ने काम नेम्वाङबाट नै भएको पनि उपप्रधानमन्त्री श्रेष्ठले स्मरण गरे। नेम्वाङको भूमिकाबिना मिटरब्याजीसम्बन्धी कानुन पारित हुन सहज नभएको उनको भनाइ छ। नेम्वाङ अत्यन्त मृदुभाषी, सरल र मिलनसार भएको स्मरण गर्दै उपप्रधानमन्त्री श्रेष्ठले नेम्वाङका गुण सबैले अनुकरण गर्न योग्य रहेको बताए।

प्रकाशित: Sep 12, 2023| 09:59 मंगलबार, भदौ २६, २०८०
प्रतिक्रिया दिनुहोस्