मंगलबार, असार १७, २०८२

कोशीमा कांग्रेसको साथ लिन छलफलमा एमाले

 |  आइतबार, भदौ २४, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २४, २०८०

vianetvianet

काठमाडौं- नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले कोशी प्रदेशमा कांग्रेसको साथ लिन छलफल भइरहेको बताएका छन्।

आइतबार सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डले बोलाएको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै ज्ञवालीले कोशी प्रदेशमा कांग्रेसले जिम्मेवार भूमिका खेलोस् भन्ने एमालेको चाहना रहेको भन्दै संवाद भइरहेको बताएका हुन्।

अहिले प्रारम्भिक चरणको छलफलमा केही संकेत प्राप्त नभए पनि प्रदेशको हितका लागि कांग्रेसले साथ दिन उचित हुने उनको भनाइ छ। ज्ञवालीले कोशीमा गठबन्धनले पटक पटक संविधान मिच्दा अहिलेको अवस्था आएको र प्रदेशप्रति जनताको वितृष्णा जाग्ने देखिएको धारणा राखे। मध्यावधिमा जाने र जनताको वितृष्णा बढाउने काम गर्न नहुने भएकाले कांग्रेसले जिम्मेवार भूमिका खेल्नुपर्ने उनको भनाइ छ।

सर्वोच्च अदालतको परमादेशबाट एमाले नेता हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्री बनेका छन्। उनले मुख्यमन्त्रीमा नियुक्ति भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक प्रावधान छ।

९३ सदस्यीय प्रदेशसभामा बहुमत पुर्‍याउन ४७ सांसद आवश्यक पर्छ। एमाले र राप्रपाका ४६ जनामात्रै छन्। सभामुख पद खाली छ। उपसभामुख एमालेकै सिर्जना दनुवार छिन्। उनले सभाको अध्यक्षता गर्नुपरेमा एमाले-राप्रपासँग ४५ मतमात्रै पुग्छ।

यसकारण कोशीमा कार्की नेतृत्वको सरकार जोगाउन केन्द्रीय सत्ता गठबन्धनका कुनै एक घटकसँग मिल्नुको विकल्प एमालेसँग छैन। राप्रपाले मुख्यमन्त्री कार्कीलाई समर्थन गर्ने तर सरकारमा सहभागी नहुने बताएको छ। कांग्रेसले भने यसबारे पार्टीको धारणा सार्वजनिक गरेको छैन।

प्रकाशित: Sep 10, 2023| 14:33 आइतबार, भदौ २४, २०८०
प्रतिक्रिया दिनुहोस्