शनिबार, वैशाख २६, २०८३

बीपीको मार्गमा हिँडिरहेका छौं: कांग्रेस सभापति देउवा

 |  आइतबार, भदौ २४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २४, २०८०

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बीपी कोइरालाको राजनीतिक चिन्तनको मार्गमा हिँडिरहेको बताएका छन्। यही चिन्तनले मुलुकलाई समृद्ध बनाउने लक्ष्य लिएको पनि उनले बताए।

National life

बीपी कोइरालाको ११० औं जन्मजयन्तीको अवसरमा पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित बीपी साहित्य महोत्सव उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री देउवाले सो धारणा राखेका हुन्।

मुलुक बीपीले देखाएको राजनीतिक प्रणालीमा अघि बढेको बताउँदै उनले भने, ‘नेपाल समाजवाद उन्मुख राष्ट्र भनेर संविधानमा लेखेका छौं। तर अझै पनि त्यसको व्यवहारमा जनताले अनुभूति गर्न भने नसकेको र बीपीको विचारलाई पर्याप्त छलफल तथा बहस गराउन नसक्नु केही कमजोरी भएको छ।

आर्थिक समानताका सम्बन्धमा मार्क्सवादी चिन्तनलाई पनि बीपीले आवश्यक ठान्ने गरेको उनले बताए । निरपेक्ष साम्यवाद र निरपेक्ष पुँजीवाद दुवै अपूर्ण देखेर बीपीले प्रजातान्त्रिक समाजवादको सिद्धान्त अघि सारेको बताउँदै देउवाले भने, ‘साम्यवादमा प्रजातन्त्र थपिदियो भने समाजवाद हुन्छ र समाजवादबाट प्रजातन्त्रलाई झिकिदियो भने साम्यवाद हुन्छ।’

सबै किसिमको विभेदविरुद्ध आगो ओकल्ने बीपी बहुआयामिक व्यक्तित्वको अन्तर्राष्ट्रियस्तरको नेता भएको बताउँदै देउवाले बीपी कोइराला आफ्नो राजनीतिको प्रेरणाको स्रोत पनि भएको बताए।

कांग्रेसले पार्टीका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइरालाको जन्मजयन्तीको अवसरमा आइतबारदेखि तीन दिनसम्म बिपी साहित्य महोत्सव २०८० आयोजना गर्दै छ।

बिपी कोइरालाको जन्म जयन्तीका अवसरमा कांग्रेस केन्द्रीय कार्यसमितिको आयोजना एवं नेपाली लेखक संघको संयोजन एवं नेपाल सांस्कृतिक महासंघ, निरन्तर शनिबार र फाइन आर्टको सहयोगमा भदौ २६ गते सम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा ‘बिपी साहित्य महोत्सव’ हुन लागेको हो।

कांग्रेस केन्द्रीय कार्यसमितिको गत साउन २ देखि १० गतेसम्म भएको बैठकले बिपी जन्म जयन्तीका अवसरमा बिपी साहित्य महोत्सव आयोजना गर्ने निर्णय गरेको थियो। कांग्रेसले जननायक बिपी कोइरालाको जन्मदिन भदौ २४ गतेलाई हरेक वर्ष बिपी जन्म जयन्तीका रूपमा मनाउँदै आएको छ।

तीन दिनसम्म चल्ने महोत्सवमा कविता साँझ, गजल साँझ, सांगीतिक साँझ, चित्रकला प्रदर्शनी, वृत्तचित्र प्रदर्शनी, ऐतिहासिक फोटो प्रदर्शनीलगायत कार्यक्रम हुने कांग्रेसका सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए।

 

प्रकाशित: Sep 10, 2023| 12:24 आइतबार, भदौ २४, २०८०
प्रतिक्रिया दिनुहोस्