नेपाली कांग्रेसले पार्टीका संस्थापक नेता तथा प्रथम जन निर्वाचित प्रधानमन्त्री जननायक विश्वेश्वरप्रसाद कोइरालाको ११०औँ जन्म जयन्तीको अवसरमा आइतबारदेखि तीन दिनसम्म बिपी साहित्य महोत्सव, २०८० आयोजना गर्दै छ।
बिहान ९ बजे कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाबाट महोत्सवको उद्घाटन गर्ने कांग्रेस पार्टी कार्यालयले जनाएको छ।
बिपी कोइरालाको जन्म जयन्तीका अवसरमा कांग्रेस केन्द्रीय कार्यसमितिको आयोजना एवं नेपाली लेखक सङ्घको संयोजन एवं नेपाल सांस्कृतिक महासङ्घ, निरन्तर शनिवार र फाइनआर्टको सहयोगमा भदौ २६ गते सम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा ‘बिपी साहित्य महोत्सव’ हुन लागेको हो।
कांग्रेस केन्द्रीय कार्यसमितिको गत साउन २ देखि १० गतेसम्म भएको बैठकले बिपी जन्म जयन्तीका अवसरमा बिपी साहित्य महोत्सव आयोजना गर्ने निर्णय गरेको थियो। कांग्रेसले जननायक बिपी कोइरालाको जन्मदिन भदौ २४ गतेलाई हरेक वर्ष बिपी जन्म जयन्तीका रूपमा मनाउँदै आएको छ।
तीन दिनसम्म चल्ने महोत्सवमा कविता साँझ, गजल साँझ, साङ्गीतिक साँझ, चित्रकला प्रदर्शनी, वृत्तचित्र प्रदर्शनी, ऐतिहासिक फोटो प्रदर्शनीलगायत कार्यक्रम हुने कांग्रेसका सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए।
पहिलो दिन बिहान ‘हाइज्याकिङ फर डेमोक्र्यासी’ वृत्तचित्र प्रदर्शन गरी सुरु हुनेछ। त्यसपछि बिपीको साहित्य सिर्जना र जीवन दर्शन विषयमा अभि सुवेदीले सम्भाषण दिनेछन्। त्यसपछि बिपीका दृष्टिमा बिपी, बिपीका आख्यानमा मनोविश्लेषण, साहित्यमा पर्यावरण, नेपालको मातृभाषा साहित्य शीर्षकका आख्यान र साहित्यमा अलग अलग सत्र सञ्चालन हुने पार्टी कार्यालयले जनाएको छ। पहिलो दिनको अन्तिममा २० कविबाट कविता साँझको आयोजना गरिने छ।
दोस्रो दिन भदौ २५ गते बिहान वीर गणेशमान चलचित्र प्रदर्शन गरी महोत्सवको सुरुआत गरिनेछ। मार्क्स, गान्धी र बिपी, आजको लोकतान्त्रिक समाजवादको खोज विषयमा आनन्द कुमारले सम्भाषण दिनेछन्। त्यसपछि बिपीले नपाएका १५ वर्ष, बिपीका आख्यानमा मधेस, अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिमा बिपी, युवा स्रष्टामा बिपी पठन शीर्षकका आख्यान र साहित्यमा प्रवचन तथा छलफल हुनेछन्। दोस्रो दिनको अन्तमा ३० जना गजलकारबाट गजल साँझको आयोजना हुने छ।
तेस्रो दिन भदौ २६ गते बिहान तीन घुम्ती चलचित्र प्रदर्शनबाट महोत्सवको सुरुआत गरिने छ। त्यसपछि बिपीको समाजवादी परिकल्पनामा शिक्षा विषयमा केदारभक्त माथेमाले सम्भाषण दिनेछन्।
त्यसपछि समावेशिता, सामाजिक रूपान्तरण र बिपी, समय र सबाल्र्टन, बिपीका आख्यानमा नारी, परिवारले बुझेका बिपी विषयमा अलग अलग सत्र सञ्चालन हुनेछन्। तेस्रो तथा महोत्सवको अन्तिम दिनमा धन्यवाद ज्ञापन र साङ्गीतिक साँझसँगै महोत्सवको समापन गरिने पार्टी कार्यालयले जनाएको छ।