काठमाडौं- उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको विविधताबीचको एकता, सद्भाव र सहिष्णुताको मौलिक विशेषतामा आक्रमण भइरहेको बताएका छन्। शनिबार काठमाडौंमा ज्यापु महागुठीको चौथो राष्ट्रिय महाधिवेशनमा उनले यस्तो बताएका हुन्।
विविधताको बीच एकता, सद्भाव र सहिष्णुताको मौलिक परम्परा र संस्कृतिमाथि आक्रमण गर्ने कुनै खेल नेपालमा फस्टाउन दिन नहुनेमा उनले जोड दिए। आफ्नो पहिचान, अधिकार र विकासको निम्ति सचेत हुनुपर्ने उनले बताए।
जातीय, भाषिक र धार्मिक एकताको सट्टा विभिन्न नाममा द्वन्द्व फैलाउने, बिग्रह फैलाउने खतरा देखिएको उनले उल्लेख गरे।
'आज जातीय, भाषिक र धार्मिक एकताको सट्टा, सद्भाव र सहिष्णुताको सट्टा विभिन्न नाममा द्वन्द्व फैलाउने, बिग्रह फैलाउने खतराहरू पनि देखिरहेको छ। हामी सबै आफ्नो पहिचान, अधिकार र विकासको निम्ति सचेत हुनुपर्छ। प्राप्त भएको उपलब्धिको रक्षा गर्दै थप अधिकारको निम्ति अघि बढ्नुपर्छ। त्यसको निम्ति संगठित हुनुपर्छ,' उनले भने, 'त्यस्तै, अरूको अधिकार, पहिचान र विकासको निम्ति पनि सहयोगी हुनुपर्छ। हाम्रो विविधताको बीच एकता, सद्भाव र सहिष्णुताको हाम्रो मौलिक परम्परा र संस्कृतिमाथि आक्रमण गर्ने कुनै खेल नेपालमा फस्टाउन, बढ्न नपाओस्। परास्त गर्न सफल हुनुपर्छ।'
सरकारले अहिले सुशासन, समृद्धि र सामाजिक न्यायलाई आफ्नो कार्यभारको मूल मन्त्र बनाएको उनले बताए। उनले सरकारले भ्रष्टाचारविरोधी र दण्डहीनताविरोधी ठूलाठूला अभियान सञ्चालन गरेको सुनाए।