मकवानपुर–समाजवादी मोर्चाले बागमती प्रदेश स्तरीय सन्देशसभा आइतबार मकवानपुरको हेटौंडामा गर्ने भएको छ। आज आयोजित पत्रकार सम्मेलनमार्फत समाजवादी मोर्चामा आबद्ध दलहरुले उक्त सन्देशसभाबारे जानकारी गराएका हुन्।
सातै प्रदेशमा सन्देशसभा कार्यक्रम तय भएको र सोहीअनुसार बागमती प्रदेशको हेटौंडामा सभा हुने नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश अध्यक्ष सावित्रा भुसालले जानकारी दिइन्।आइतबार नै समाजवादी मोर्चाको बागमती प्रदेश कमिटी घोषणा गर्नेसमेत तयारी छ।
आइतबार आयोजना गर्न लागिएको झेलालाई प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, नेकपाका महासचिव नेत्रविक्रम चन्दलगायतले समाजवादी मोर्चाको अवधारणाबारे कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रम रहेको प्रदेश अध्यक्ष भुसालले बताइन्।–रासस