काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले कोसी प्रदेश सभा विघटन हुने खतरा बढेबो बताएका छन्। विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले राप्रपा कुनै पक्षमा नलाग्दा प्रदेशसभा नै विघटन हुने खतरा भएको बताए।
एमाले र कांग्रेस मिल्न नसके राप्रपाले आवश्यक समयमा उचित निर्णय लिने पनि उनले बताए। नेकपा (एमाले) र नेपाली कांग्रेस मिलेर सरकार बनाएर राजनीतिक स्थायित्व दिनुपर्ने बताएका छन्। उनले अहिलेको व्यवस्थाका संस्थापक एमाले र कांग्रेस मिलेर कोसी प्रदेशलाई जोगाउनु राम्रो हुने धारणा व्यक्त गरे।
भ्रष्टाचार छानबिनका नाममा उठाइएका विभिन्न प्रकरणलाई सरकारले सत्ताको रक्षाकवचका रूपमा प्रयोग गरेको उनले जिकिर गरे। आर्थिक कारणले प्रदेशको औचित्य समाप्त हुँदै गएको भन्दै लिङदेनले जातीय र धार्मिक द्वन्द्व बढाउने कार्य गर्न नहुनेमा जोड दिए।
प्रमुख राजनीतिक दलहरू नै भ्रष्टाचार र सुन तस्करी प्रकरणमा जोडिएको भन्दै उनले निष्पक्ष र स्वतन्त्र रूपमा छानबिन गरिनुपर्ने बताए।