आइतबार, असार २२, २०८२

एमाले अवरोधले बागमती प्रदेशसभा बैठक दुई महिनासम्म बन्धक

आफूहरुका माग सम्बोधन नगरे बैठक चल्न नदिइने एमालेसहितका विपक्षी दलले चेतावनी दिएपछि आज बस्ने तय गरिएको प्रदेशसभा बैठक फेरि स्थगित भएको हो।
 |  बुधबार, भदौ २०, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २०, २०८०

vianetvianet

काठमाडौं– लगातार दुई महिनादेखि अवरुद्ध हुँदै आएको बागमती प्रदेशसभा बैठक आज पनि सूचना टाँसेर स्थगित भएको छ। प्रदेशसभामा मुख्य प्रतिपक्षी एमाले र प्रतिपक्षी राप्रपालगायत दलले प्रदेश सरकारसँग भएका सम्झौता कार्यान्वयन हुनुपर्ने माग गर्दै प्रदेशसभा बैठक अवरोध गर्दै आएका हुन्।

आफूहरुका माग सम्बोधन नगरे बैठक चल्न नदिइने एमालेसहितका विपक्षी दलले चेतावनी दिएपछि आज बस्ने तय गरिएको प्रदेशसभा बैठक फेरि स्थगित भएको हो।

यसअघि सोमबारका लागि बोलाइएको प्रदेशसभा बैठक दुई पटकसम्म सारिएको थियो। दिउँसो १ः३० बजेसम्मका लागि बोलाइएको बैठक निर्धारित समय बस्न नसकेपछि स्थगित गरी पुनः ४ बजेका लागि आह्वान गरिएको थियो।

आज दिउँसो १ बजेका लागि बस्ने तय गरिएको बैठक सूचना टाँस गरेर स्थगित भएको प्रदेशसभा सचिवालयले जनाएको छ।

एमालेले सरकारसँग बजेट पारित गर्दा आफ्ना योजना समावेश गर्ने सहमति गरेको र उक्त सहमति कार्यान्वयन नभएसम्म बैठक चल्न नदिने अडान राख्दा संसद् बैठक स्थगित भएको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले बताए।

बजेटसम्बन्धी छलफलका लागि गत १४ असारदेखि आह्वान गरिएको बैठक पनि एमाले र राप्रपाले अवरोध गरेका थिए। विपक्षी अवरोधपछि सत्तापक्षले बजेट पारित गर्न एमाले र राप्रपासँग क्रमशः ४५ करोड र २५ करोडसम्मको योजना समावेश गर्ने सहमति गरेको थियो।

सरकारको गतिविधिमा निरन्तर विमति राख्दै आएको नेमकिपाले भने सरकारले राजनीतिक चरित्र देखाउन नसकेको आरोप लगाएको छ। नेमकिपा बागमती प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज गोसाईंले सरकारले राजनीतिक चरित्र सिक्न जरुरी रहेको बताए।

प्रदेशसभाको अर्को बैठक २४ भदौ दिउँसो १ बजे बस्ने गरी सूचना टाँसिएको प्रदेश सचिवालयका प्रवक्ता मनोज गुप्ताले जानकारी दिए। यसअघि गत २२ असारमा प्रदेश सरकारको चालू आर्थिक वर्ष २०८०/८१ को बजेट पारित भएसँगै अनिश्चितकालका लागि स्थगित  बैठक दुई महिनापछि बस्ने गरी गत सोमबार र आजका लागि सूचना जारी गरिएको थियो।

प्रकाशित: Sep 06, 2023| 15:56 बुधबार, भदौ २०, २०८०
प्रतिक्रिया दिनुहोस्