काठमाडौं– लायन्स क्लब अफ काठमाडौं रेडियन्स र नेपाल चिकित्सक संघ जुनियर डक्टर कमिटी (एनएमए जेडीसी) को संयोजकत्वमा ‘लायन्स क्लब अफ काठमाडौं रेडियन्स गुडविल फेलो एन्ड एनएम–जेडिसी मेडिकल एम्बेसडर प्रोग्राम’ सञ्चालन हुने भएको छ।
अन्तर्राष्ट्रिय युवा दिवसको उपलक्ष्यमा आयोजना गरिएको उक्त कार्यक्रममा नेपाल चिकित्सक संघ जेडीसीका सचिव तथा युवा नेता डा. हुलास अग्रवालले युवाहरु भविष्यका कर्णधार मात्र नभएर आजका सशक्त वर्तमान पनि भएको बताए।
‘यस्ता कार्यक्रमबाट युवाहरुलाई हौसला प्राप्त प्राप्त हुन्छ,’ डा. अग्रवालले भने। विश्वभर युवाको जनसंख्या झन्डै एक अर्ब भएको तथ्यांक प्रस्तुत गर्दै उनले तीमध्ये करिब २.६ प्रतिशतमात्र नीति निर्माण तहमा रहेको बताए।
‘३० वर्ष मुनिका केवल २.६ प्रतिशत युवा पार्लियामेन्टका सदस्य अर्थात् पोलिसी मेकिङमा छन्। युवाको सहभागिता नीति निर्माणमा न्यून छ र राज्यले युवाको सहभागिता सुनिश्चित गर्नुपर्ने देखिन्छ,’ डा. अग्रवालले भने।
कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं रेडियन्सका संस्थापक अध्यक्ष डा. तेजसु सिंह मल्ल र जेडीसीका तर्फबाट डा. हुलास अग्रवालले सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर गरेका थिए। दुई संस्थाको साझेदारीमा उक्त फेलोशिपमार्फत लिडरसिप तालिम तथा कल्चरल एक्सचेन्ज जस्ता कार्यक्रम अगाडि बढाउने योजना रहेको डा. मल्लले जानकारी दिए।
मल्ल अमेरिकास्थित युनिभर्सिटी अफ सान डिएगो, क्रक इन्स्टिच्युट अफ पिस एन्ड जस्टिस (आईपीजे) र काठमाडौंस्थित लिडरशीप एकेडेमीद्वारा सञ्चालित नेपाल इमर्जिङ लिडर्स प्रोग्राम (एनइएलपी) का प्रशिक्षार्थी पनि हुन्।
