काठमाडौं- नेकपा एमालेको प्रथम लुम्बिनी प्रदेशको नेतृत्व चयनका लागि मंगलबार मतदान हुँदैछ। शनिबारदेखि बुटवलमा जारी एमाले प्रदेश अधिवेशनमा सोमबार गर्ने भनिएको मतदान मंगलबार विहानलाई सारिएको थियो।
मुख्य निर्वाचन अधिकृत हरिप्रसाद भण्डारीका अनुसार केही बेरमा मतदान सुरू हुँदैछ। एमालेमा लुम्बिनी प्रदेश अध्यक्षका लागि निवर्तमान अध्यक्ष राधाकृष्ण कँडेल र केन्द्रीय सदस्य हरिप्रसाद रिजाल चुनावी मैदानमा छन्। कँडेल उपाध्यक्ष विष्णु पौडेल र रिजाल महासचिव शंकर पोखरेल निकटका हुन्।
मुख्य निर्वाचन अधिकृत भण्डारीका अनुसार २०५ सदस्यीय प्रदेश कमिटीका लागि ३६४ जनाको उम्मेदवारी परेको छ। उपाध्यक्षमा भोजप्रसाद श्रेष्ठ, विश्वराज बराल र पूजन विश्वकर्माको उम्मेदवारी परेको छ भने सचिवमा लक्ष्मण आचार्य निर्विरोध भएका छन्।
उपसचिव खुलामा उपेन्द्रलाल कामी, दुर्गाप्रसाद थारू चौधरी, पूर्ण बुढामगर र हिरा एसीबीच प्रतिस्पर्धा छ। यस्तै महिला उपसचिवमा आरती पौडेल, वसन्ती अधिकारी र लीला रानामगरको उम्मेदवारी परेको छ।