शनिबार, वैशाख २६, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • तत्कालीन सरकारले नयाँ नक्साबारे सम्बन्धित देशलाई जानकारी गराएको थाहा छैन: परराष्ट्रमन्त्री

तत्कालीन सरकारले नयाँ नक्साबारे सम्बन्धित देशलाई जानकारी गराएको थाहा छैन: परराष्ट्रमन्त्री

 |  आइतबार, भदौ १७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १७, २०८०

परराष्ट्रमन्त्री एनपी साउदले विगतको सरकारले नेपालको नयाँ नक्सा जारी गरे पनि त्यो नक्साको जानकारी सम्बन्धित देशलाई औपचारिक च्यानलको माध्यमबाट नदिइएको बताएका छन्। यद्यपि आफूहरु नेपालको नयाँ नक्साप्रति प्रतिबद्ध रहेको भन्दै उनले छिमेकीसँगको सीमा विवाद कूटनीतिक च्यानलबाट समाधान गर्ने बताए।

National life

आज ओखलढुंगा पुगेका मन्त्री साउदलाई पत्रकारहरुले चीनले हालै जारी गरेको आफ्नो नक्सामा नेपालको चुच्चे नक्सा नसमेटेको विषयमा सरकारको धारणा सोधेका थिए। जवाफमा साउदले नयाँ नक्सा जारी गरिएको तर जानकारी गराउनुपर्ने ठाउँमा नगराइएको बताएका हुन्।

मन्त्री साउदले विगतमा काम गर्दै जाँदा ढंग नपुगेको बताए। ‘कहिलेकाहिँ काम गर्दै जाँदाखेरि ढंग नपुगेको जस्तो पनि पटक-पटक देखिने गर्या छ। विशेष गरी नक्सा पास गरिसकेपछि त्यो नक्सा प्रपर च्यानलबाट सम्बन्धित देशहरुमा गयो कि गएन भन्ने बारेमा अहिले पनि मैले मन्त्रालयमा बुझ्दाखेरि गइसकेको भन्ने ठोस जानकारी मैले पाएको छैन,’ उनले भने।

तत्कालीन प्रधानमन्त्री केपी ओलीले नेपालको चुच्चे नक्सा जारी गरेका थिए। 'नेपालले आफ्नो नक्सा सार्वभौम संसदबाट सर्वसम्मतले पारित गरेर जारी गरिसकेको छ। जारी गरिसकेपछि हामी आफ्नो नक्साका बारेमा कमिटेड छौं र सबै छिमेकी मुलुकसमेत अन्तर्राष्ट्रिय समुदायले पनि हाम्रो नक्साको हाम्रो निर्णयको सम्मान गरोस् भन्ने हाम्रो धारणा रहिआएको छ,’ उनले भने।

उनले सीमाको बारेमा कहिँ विवाद भए कूटनीतिक वार्ता र सम्वादबाट निप्टारा गर्नुपर्ने नेपाल सरकारको नीति रहेको दिए। ‘हामी यसलाई धेरै ठूलो विवाद बनाएर अगाडि बढ्ने भन्दा पनि सबै देशहरुसँग कूटनीतिक संवाद, छलफल गरेर यो विवादको समाधान गर्न चाहन्छौं,’ उनले भने।

 

प्रकाशित: Sep 03, 2023| 13:05 आइतबार, भदौ १७, २०८०
प्रतिक्रिया दिनुहोस्