शनिबार, वैशाख २६, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • सरकारले भ्रष्टाचारको पोल खोल्छु भनेर तर्साइरहेको छ : महामन्त्री थापा

सरकारले भ्रष्टाचारको पोल खोल्छु भनेर तर्साइरहेको छ : महामन्त्री थापा

 |  शनिबार, भदौ १६, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १६, २०८०

झापा- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले भ्रष्टाचारको पोल खोल्छु भनेर तर्साइरहेको बताएका छन्। महामन्त्री थापाले नीतिगत भ्रष्टाचार र काण्डै काण्डले सत्तामा पुगेका बदनाम भइरहेका हुँदा कांग्रेसकै कोही नेताले पनि भ्रष्टाचार गरेको रहेछ भने त्यस्तो पापको भारी पार्टीले नबोक्ने स्पष्ट पारे। 

National life

प्रमुख दलका नेताहरूले एउटाले अर्कोको भ्रष्टाचारको पोल खोल्छु भनेर तर्साउने गरेको समेत उनको आरोप थियो। उनले नेपाली कांग्रेसलाई रूपान्तरण गर्नका लागि विसं २०८२ मा पार्टीको महाधिवेशन गर्नुपर्ने र चुनावमा उम्मेदवार छान्न आफ्नै तहका क्रियाशील सदस्यले मतदान गर्ने परिपाटी बसाउनुपर्ने बताए।

उनले जनतामा ठुलो छटपटी र आक्रोश बढिरहेको हुँदा बदलिएको कांग्रेसले मात्र देश बदल्ने सामर्थ्य राख्ने बताएका छन्। 

नेपाली कांग्रेस मेचीनगर समितिको आज धुलाबारीमा आयोजित नगर सम्मेलनमा उनले सबैजसो राजनीतिक दलको नेतृत्वले गलत क्रियाकलाप गर्दा समाजले आत्मविश्वास गुमाएको जनाउँदै कांग्रेसले अब जरैदेखि रूपान्तरित भएर गुमेको आत्मविश्वास फर्काउनुपर्ने बताएका हुन्।

'जनतामा ठुलो छटपटी छ, आक्रोश छ', उनले भने, 'जुन दल सत्तामा पुगे पनि, जुन नेता पुगे पनि आफूलाई बदलेका छन्, देश र जनतालाई केही पनि गरेनन् भन्ने आम आक्रोश बढिरहेको छ, यो निराशा कुराले होइन, काम र परिणामले चिरेर कांग्रेसले नै सही नेतृत्व गर्न सक्छ भन्ने साबित गर्नुपर्ने बेला आएको छ।'

आफू वरिपरि डुलिरहने र नजिकमा बसेर चाकरी गर्नेलाई मात्रै चुनावमा उम्मेदवारको टिकट दिने पुरानो प्रणालीले कांग्रेसका सदस्य तथा मतदातामा निराशा बढेको महामन्त्री थापाले आरोप थियो। 'माथिबाट टिकट पठाएर उम्मेदवार बनाउने प्रथा अब बन्द हुनुपर्छ', उनले भने, 'पार्टीभित्र सबै क्रियाशील सदस्य भएकाले कोही ठुलो र कोही सानो भन्ने हुँदैन।'

महामन्त्री थापाले २३ प्रतिशतभन्दा बढी युवा जनशक्ति रहेको स्वर्णिम कालमा मुलुकको समृद्धिको आकाङ्क्षा पूरा गर्नेतर्फ आशा जगाउने कुनै कार्य सरकारमा पुगेकाबाट नभएको गुनासो गरे। पुराना र नयाँ राजनीतिक दलहरू मुलुकको भविष्य तथा जनताको समस्यामा चिन्तित हुन छाडेर २०८४ मा हुने चुनाव कसरी जित्ने भनेर बहकिन थालेको टिप्पणी गरे। 
 

प्रकाशित: Sep 02, 2023| 20:20 शनिबार, भदौ १६, २०८०
प्रतिक्रिया दिनुहोस्