मंगलबार, जेठ २६, २०८३

काठमाडौं–कलिङ साहित्य 

अभिनेत्री दिव्या दत्ताले सुनाइन् बलिउड सपनाको ‘उडान’

बलिउडमा तीन दशक बिताइसकेकी अभिनेत्री दत्ताले नेपाली चलचित्र ‘वसन्ती’ र ‘माया नमार’ मा काम गरेकी छन्।
 |  शनिबार, भदौ १६, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १६, २०८०

काठमाडौं– त्रिदिवसीय साहित्य महोत्सव ‘काठमाडौं–कलिङ साहित्य महोत्सव’ सहभागी हुन नेपाल आएकी भारतीय अभिनेत्री तथा लेखक दिव्या दत्ताले आफ्नो चलचित्र यात्राबारे चर्चा गरेकी छन्। बलिउडमा तीन दशक बिताइसकेकी अभिनेत्री दत्ताले नेपाली चलचित्र ‘वसन्ती’ र ‘माया नमार’ मा काम गरेकी छन्।

National life

लेखक सुमित शर्मासँगको ‘दिव्या दत्तको चलचित्र यात्रा’ सत्रमा उनले नेपाली भाषा सुन्दर लाग्ने प्रतिक्रिया दिइन्। ‘म नेपाली भाषा छिट्टै सिकिरहेको छु, मलाई यहाँ घरभन्दा बाहिर आएजस्तो महसुस भएकै छैन’, उनले भनिन्। ‘भाग मिल्खा भाग’, ‘वीरजारा’, ‘दिल्ली–६’, ‘ब्ल्याकमेल’, ‘जिप्पी’, ‘बद्लापुर’लगायत चलचित्रमा काम गरेकी अभिनेत्री दत्ताले बाल्यकालमा अभिनेता अमिताभ बच्चनबाट प्रभावित भएको सुनाइन्। 

आमाबुबा चिकित्सक भएकाले उनलाई बाल्यकालमा सोही पेसामा आबद्ध हुन्छु भन्ने लागेको थियो। पढाइ राम्रो भएकाले विज्ञान पढ्ने दबाब हुँदा पनि उनले अंग्र्रेजी साहित्य, मनोविज्ञान, दर्शन पढ्ने इच्छा गरेको बताइन्। 

‘मेरो बुबा म सानै छँदा बित्नुभयो। त्यसैले आमालाई मनका कुरा भन्न सहज भए पनि भन्न सक्तिनँ’, दत्ताले भनिन्। उनले ‘ट्यालेन्ट हन्ट’को सहभागिताका लागि निवेदन दिँदा चाहिने तस्बिर खिच्न भाइको सहारा लिइन्। त्यहाँ छनोट भएपछि भाइसँगै आमालाई आफ्नो सपनाबारे परिचित गराइन्। 

‘मैले र भाइले आट गरेर आमालाई भनेका थियौं। उहाँसँग हामीलाई डर लाग्थ्यो, आमाले मलाई सपनाको उडान भर्ने सहमति दिनुभयो। यद्यपि मेरो अध्यनलाई असर नपुग्ने गरी’, उनले भनिन्। यहीँबाट बलिउड यात्रा प्रारम्भ गरेकी दत्ताले अभिनेत्री मनीषा कोइरालाका कारण काम पाइन्।  उनको अनुहार मिल्दोजुल्दो देखिएपछि उस्तै खोजीका साथ आउने निर्माताले काम दिन थाले। यसको उदाहरण ‘अग्निसाक्षी’ हो। 

Shivam cement

‘मलाई अन्य अभिनेत्रीको छाया बन्नु थिएन तर त्यसपछि काम गरेको केही चलचित्रमा मुख्य अभिनेत्रीको साथीको भूमिका पाएँ। सुरुमा काम देखाउँछु भन्ने लागे पनि पछि गन्तव्य देखिनँ’, अभिनेत्री दत्ताले भनिन्।

‘वीरजारा’ जस्तो चलचित्रमा काम गरेर पनि आफूलाई परिचित गराउन असहज देखेपछि उनको यात्रा रोकिने अवस्थामा पुग्यो। सोही समय आमाले पाएको भूमिकालाई निर्वाह गरेर संघर्ष गर्न सुझाएको अभिनेत्री दत्ताले सम्झिइन्। ‘आमाले चलचित्रमा निरन्तर काम गर्न दिएको सुझाव मानेर काम गरें, त्यही क्रममा मैले ‘दिल्ली ६’, ‘भाग मिल्का भाग’ जस्ता चलचित्रमार्फत आफूलाई प्रमाणित गरें’, उनले भनिन्, ‘अहिले वेब शृंखलासँगै चरित्रप्रधान चलचित्र बन्ने गरेका छन्, अहिले संघर्ष गर्न पहिलेभन्दा सजिलो छ।’

सफल अभिनेत्री बन्दै गर्दा उनले लेखनमा समेत आफूलाई अगाडि ल्याइन्। पहिलो पुस्तक ‘मि एन्ड माँ’ भित्र उनले आमासँगको सम्बन्धलाई शब्दमार्फत व्याख्या गरिन्। उनले काम र यात्रालाई सुन्दर बनाइदिने मानिसलाई लक्षित गर्दै दोस्रो पुस्तक ‘द स्टार्स इन माई स्काई’ तयार गरिन्। आफूलाई आफ्नो शब्दको शक्ति महसुस भने पहिलो पुस्तकबाटै भएको उनले बताइन्। 

‘मलाई एक दिन चण्डीगढको विमानस्थलमा एक महिलाले बोलाइन्। मैले अभिनयको कुरा होला भन्ठानेकी थिएँ, तर उनले तपाईंको आमासँगको सम्बन्धको किताब पढेँ, त्यसले मलाई आमालाई हेर्ने दृष्टिकोणमै परिवर्तन ल्यायो भनिन्। त्यसपछि मैले पुस्तकको महत्त्व बुझें’, उनले भनिन्। 

यसरी आफूलाई अभिनेत्रीसँगै साहित्य क्षेत्रमा समेत परिचित गराउन सफल अभिनेत्री दत्ताले केही समय यता ओभर द टप (ओटीटी) का लागि निर्माण हुने चलचित्र तथा शृंखलामा काम गरिरहेकी छन्। 

‘एउटा कलाकारका लागि महत्त्वपूर्ण कुरा हो– धैर्य, लगाव र निरन्तरता। यो तीनै चिज भएपछि मात्र कलाकारितामा टिकिरहन सकिन्छ। यो क्षेत्र निकै अनिश्चित छ, भोलि के हुन्छ, कसैलाई थाहा हुन्न। सायद भोलि केही पनि नहुन पनि सक्छ। तर, आफ्नो मनलाई जे कुराले खुसी बनाउँछ, त्यो काम भने गर्न छाड्नुहुन्न’, अभिनेत्री दत्ताले भनिन्।

उनी तीनदिने महोत्सवअन्तर्गत विभिन्न सत्रमा सहभागी भएर विविध पाटोमा छलफल गरिरहेकी छन्। यशस्वी प्रज्ञा प्रतिष्ठान नेपाल र कलिङ साहित्य महोत्सव (केएलएफ) भारतको संयुक्त आयोजनामा शुक्रबार सुरु भएको महोत्सव आइतबारसम्म सञ्चालन हुनेछ।

प्रकाशित: Sep 02, 2023| 15:01 शनिबार, भदौ १६, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नयाँ अनुहारले नयाँपन ल्याउलान् चलचित्रमा ?

डेढ दशक अघिसम्म राजेश हमाल, निखिल उप्रेती, रेखा थापा, विराज भट्टलगायत कलाकारको दबदबा थियो। उनीहरूको पोस्टर देख्दामात्रै पनि दर्शक चलचित्र भवनसम्म पुग्थे।

वसन्त चौधरीको 'हृदयमा बलेको साहित्यको आगो'

हृदयमा कति आगो बलेको छ भन्ने कुरा हृदयमै चिहाएर हेर्न र बाहिरी ओठको मात्र नभएर भित्री खुसी खोजेर खबर सम्प्रेषण गर्न अर्थात् छाप्न पत्रकारहरूलाई नै...

पोखरामा चिनाइँदै जनकपुरको मिथिला संस्कृति

जनकपुरको धार्मिक, ऐतिहासिक, पौराणिक मिथिला संस्कृतिलाई पोखरेलीसामु ल्याउन प्रदर्शनी गर्न लागिएको हो।

थिमिमा कुभिण्डे जात्रा मनाइयो

कुभिण्डे जात्रामा फूलपातीका दिन सिद्धिकाली मन्दिरबाट फूलपातील्याई तलेजू दसैंघरमा भित्र्यापछि नवमीका दिन राँगो र बोकाको टाउको बलि दिने परम्परा रहिआएको छ।