काठमाडौं– संगठनात्मक रुपमा खुइलिँदै गएको सत्तारुढ नेकपा माओवादी केन्द्रले आजदेखि तीनमहिने रुपान्तरण अभियान सुरु भएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल रुपमा देशभरका सबै वडामा एकैसाथ ‘जनतासँग माओवादीः विशेष रुपान्तरण अभियान’ उद्घाटन गरेका हुन्।
दिउँसो १ बजे सुरु हुने औपचारिक अभियानअन्तर्गत पार्टीका सबै शीर्ष नेताहरू वडावडामा पुग्नेछन्। प्रधानमन्त्रीसमेत रहेका प्रचण्ड चन्द्रागिरि नगरपालिका–२ घट्टेडाँडाको कार्यक्रममा सरिक हुनेछन्।
प्रधानमन्त्री प्रचण्डले मुख्यालय पेरिसडाँडाबाट ६ हजार ७४३ वडामा भर्चुअलमार्फत एकसाथै ब्यानर खोलेर अभियान उद्घाटन गर्दै माओवादी इतिहासकै चुनौतीपूर्ण अवस्थामा रहेको स्वीकारे। उनले विशेष अभियानबाट पार्टी एकताबद्ध भई फेरि बलियो बन्ने दाबी गरे। संगठन निर्माण र विचारको विकास गर्न अभियान महत्त्वपूर्ण हुने उनको विश्वास छ।
नक्कली शरणार्थी प्रकरण, ललिता निवास प्रकरण, सुन काण्डमा निष्पक्षपूर्वक गरिएको कामले सरकारको प्रशंसा भए पनि केहीलाई मन नपरेको उनले आरोप लगाए। ‘माओवादी एकताबद्ध भए फेरि बलियो शक्ति बन्छ। इतिहासमै पार्टी कठिन अवस्थामा उभिएकाले विशेष अभियानले विचार र संगठन निर्माणमा महत्त्वपूर्ण हुने विश्वास छ,’ उनले भने।
परिवर्तनलाई उल्टो गतिमा लैजाने चेष्टा भइरहेकाले त्यसविरुद्ध सिंगो पार्टीपंक्तिलाई एकताबद्ध हुन उनको आग्रह छ।सरकारले गरेका राम्रो कमबाट अत्तालिएकाले भ्रम छर्ने काम गरिरहेको उनले आरोप लगाए।