काठमाडौं– कांग्रेस केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टीमाथि चौतर्फी आक्रमण भइरहे पनि त्यसलाई परास्त गरिने बताएका छन्।
तनहुँमा पुगको नेता कोइरालाले आज दमौलीस्थित बीपी स्मृति भवनमा कांग्रेस जिल्ला कार्यसमितिले आयोजना गरेको स्वागत कार्यक्रममा उनले पार्टीमाथि भइरहेको आक्रमणलाई परास्त गर्न सबै एकढिक्का भएर लाग्नुपर्नेमा जोड दिएका हुन्। नेता कोइरालाले कांग्रेसमाथि आक्रमण गर्नेको नाम भने खुलाएनन्।
उनले भने, ‘सबै तवरबाट भएको आक्रमणलाई परास्त गर्न आवश्यक छ, त्यसैले अब कांग्रेस एकढिक्का हुनुपर्छ।’ उपनिर्वाचनमा विजयी हुन नसके पनि निराश हुनुपर्ने अवस्था नरहेको चर्चा उनले गरे। ‘तनहुँ कांग्रेसको गढ हो, चिन्ता लिनुपर्ने अवस्था छैन। तर नेतृत्वले एकढिक्का बनाउन प्रयत्नरत हुनुपर्छ’, उनले भने।
देशको अवस्था आर्थिक, धार्मिक, सांस्कृतिक र अब कूटनीतिक क्षेत्रमा समेत कतै ठीक नदेखिएकाले यसको समाधानका लागि कांग्रेसको नेतृत्व नभइनहुने उनको दाबी छ। आगामी निर्वाचनमा कांग्रेस एक्लै चुनावी मैदान उत्रने गरी नेतृत्वले भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए।
तनहुँमा कांग्रेस बलियो भए यससँग जोडिएका छिमेकी जिल्लालाई समेत प्रभाव पर्ने भएकाले यहाँको नेतृत्व निराश नभई सशक्त बन्नुपर्ने कोइरालाको सुझाव छ। कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीले लोकतान्त्रिक सरकार निर्माणमा कांग्रेसको भूमिका महत्त्वपूर्ण रहेको बताए।
उनले भने, ‘कांग्रेसलाई सशक्त बनाउनु नै अहिलेको आवश्यकता हो।’ जिल्लाका साथै देश बनाउने जिम्मेवारी अहिले तनहुँको नेतृत्वको काँधमा आएको उनले उल्लेख गरे।