काठमाडौं– कांग्रेस नेता नैनसिंह महरले चीन सरकारले प्रकाशन गरेको नक्सामा नेपालको चुच्चे भाग (नक्सा) समावेश नगरिनु त्रुटिपूर्ण व्यवहार भएको बताएका छन्। यसलाई सच्याउन नेपालले कूटनीतिक नोट पठाउनुपर्ने उनको धारणा छ।
आज कांग्रेसका भ्रातृ संस्था नेपाल महिला संघ, तरुण दल र नेविसंघका नेताहरुसँग काठमाडौंमा भएको छलफलमा बोल्दै नेता महरले चीन नेपालको असल छिमेकी भए पनि नेपालको सहमतिबिना सन् २०१५ मा चीन र भारतले त्रिदेशीय नाका लिपुभन्ज्याङ मार्गबाट दुई देशीय व्यापार सम्झौता गरेको र अहिले प्रकाशित नक्सामा नेपालको चुच्चे भाग नराख्नुले दुई मुलुकबीच (चीन) सीमा समस्या रहेको व्यवहारबाटै प्रस्ट हुने बताए।
भूगोल र जनसंख्याको हिसाबले कुनै मुलुक सानो र ठूलो भए पनि सार्वभौसत्ता, राष्ट्रिय अखण्डता र स्वाधीनता भने सबै देशको समान हुने हुँदा एक छिमेकीले अर्को छिमेकीको सम्मान गर्न सक्नुपर्ने सुझाए।
‘नेपालको सार्वभौम संसद्ले पास गरेको चुच्चे नक्सा चीनले आफ्नो नक्सामा समावेश नगरेको घटनाले नेपालीको चित्त दुःखेको छ। यथाशक्य कूटनीतिक वार्ता गर्न र चुच्चे भूभागसहितको नक्सा प्रकाशनका लागि चीनलाई सहमत गराउन सरकारले तत्परता देखाउनुपर्छ’, महराले भने।