काठमाडौं– गत ३ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँचपास भई बाहिरिएका बेला राजस्व अनुसन्धान टोलीले बरामद गरेको ६० किलो ७ सय १६ ग्राम सुन तस्करीको सूचना संकलनका लागि सीआईबीका एक अधिकृतलाई भारत पठाइन लागेको छ।
अवैध सुन हङकङबाट काठमाडौं भित्र्याएर तस्करले भारतमा सुन पठाउने गरेको अनुसन्धानबाट देखिएपछि सुन जिम्मा लिने समूहबारे बुझ्न सीआईबीका अधिकृतलाई त्यता पठाउन जान लागिएको हो।
सुन तस्करी प्रकरणमा भारतीय नागरिकसमेत पक्राउ परेपछि त्यसबारे अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले एक अधिकृतलाई भारतमा पठाउन लागेको हो। सम्भवतः ती अधिकृतलाई आजै पठाउने तयारी छ। यसअघि हिजो मात्रै सीआईबीले सुन तस्करीको सूचना बटुल्न एक अधिकृतलाई हङकङ पठाइसकेको छ।
भारत जाने सीआईबीका अधिकृतले ‘इन्टरपोल भारत’सँग समन्वय गरेर सूचना संकलन गर्ने बताइन्छ। दिल्लीस्थित दूतावासका कन्सुलर प्रहरी वरिष्ठ उपरीक्षक उमाप्रसाद चतुर्वेदीलाई पनि सुन प्रकरणको अनुसन्धान टिममा सहभागी गराइएको बुझिएको छ।
चतुर्वेदीसँगकै समन्वयमा सीआईबीले सुन तस्करीमा संलग्न आरोपित किशोर बस्नेतलाई पक्राउ गरेर बुधबार काठमाडौं ल्याइसकेको छ। सरकारले २१ साउनमा सुन तस्करी अनुसन्धानको जिम्मा सीआईबीलाई सुम्पिएको थियो।