शनिबार, वैशाख २६, २०८३

नक्साको बारेमा चीनसँग कुरा गर्छौं: प्रवक्ता शर्मा

 |  बुधबार, भदौ १३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १३, २०८०

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले चीनले हालै सार्वजनिक गरेको नक्साका सम्बन्धमा सरकारले कूटनीतिक माध्यमबाट कुरा गर्ने प्रतिक्रिया दिएकी छिन्।

National life

आज मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न  मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीको जिज्ञासामा उनले चीन सरकारसँग संवाद गरेर सरकारको धारणा सार्वजनिक गर्ने बताएकी हुन्।

उनले भनिन्, 'यसमा कूटनीतिक ढंगले नै कुराकानी र पहलकदमी गर्नुपर्ने हुन्छ। हाम्रो आधिकारिक नक्सा चुच्चे नक्सा हो। हामीले संसद्को सर्वसम्मतिबाट उक्त नक्सा जारी गरेका हौं। यो नक्सामा देशकै सर्वसम्मत छ। चीनले कुन सन्दर्भमा कसरी नक्सा जारी गर्यो भन्ने बारेमा कूटनीतिक पहलबाट कुराकानी गरिनेछ।’

फरक प्रसंगमा मन्त्री शर्माले विभिन्न वादविवाद, संवाद र छलफलका बीच संसद्‍बाट व्याख्यात्मक घोषणा गरी एमसीसी सम्झौता अघि बढेको विषय स्मरण गराइन्। उनले भनिन्, ‘संसद्को निर्णय जे भएको छ, आजको दिनमा आइपुग्दा एमसीसी कार्यान्वयन हुने कि नहुने भन्ने प्रश्न नै छैन। कार्यान्वयन स्वाभाविक ढंगबाट हुने नै भयो।’

व्याख्यात्मक घोषणा कार्यान्वयनका सन्दर्भमा आकर्षित हुन्छ कि हुन्न भन्ने विषय प्रमुख कुरा भएको उल्लेख गर्दै उनले यसका निम्ति सरकार सचेत रहेको र व्याख्यात्मक टिप्पणीसँग मिसाएर अघि बढ्ने बताइन्।

 

प्रकाशित: Aug 30, 2023| 17:58 बुधबार, भदौ १३, २०८०
प्रतिक्रिया दिनुहोस्