नेकपा (एमाले) को २५ औं सचिवालय बैठक आज बस्दैछ। एमालेले चौथो राष्ट्रिय महाधिवेशन आयोजना गरेको स्थल सिरहाको विष्णुपुरकट्टीमा सचिवालय बैठक राख्न लागेको हो।
विष्णुपुरकट्टीको सर्रे अम्बासमा बिहान ११:३० बजेबाट बैठक सुरू हुने एमालेले बताएको छ। धनगढीमाई नगरपालिका–१४ मा विष्णुपुरकट्टीमा सचिवालयको संक्षिप्त बैठक बस्ने र हिरक स्तम्भवको शिलान्यास गर्ने कार्यसूची छ।
एमालेले चौथो महाधिवेशन सुरु भएकै दिन अर्थात् भदौ ९ गते नै बैठकको तयारी गरेको थियो। तर त्यस क्षेत्र डुबानको चपेटामा परेकाले बैठक स्थगित गरेको थियो।
२०४६ साल भदौ ९ गतेदेखि १४ गतेसम्म एमालेले विष्णुपुरकट्टीमा काठेघर बनाएर चौथो महाधिवेशन आयोजना गरेको थियो। नेकपा (माले)को त्यो महाधिवेशनले माओत्सेतुङ विचारधारा त्याग्दै पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवादी, लेनिनवादी तय गरेको थियो।
शान्तिपूर्ण, बहुदलीय प्रतिस्पर्धात्मक राजनीतिक कार्यदिशा पनि तय गरेको थियो। नेपाली कांग्रेससँग सहकार्य गर्दै पञ्चायतविरुद्ध संघर्ष गर्ने कार्यनीति पास गर्दै ४ वैकिल्पकसहित २० जनाको केन्द्रीय कमिटी चुनेको थियो।
२०४६ भदौ १४ गते नै बसेको केन्द्रीय कमिटीको पहिलो बैठकले महासचिवमा मदन भण्डारी निर्वाचित गरेको थियो। साथै पाँच सदस्यीय पोलिटब्युरो पनि गठन गरेको थियो। पोलिटब्युरोमा माधवकुमार नेपाल, जीवराज आश्रित, झलनाथ खनाल, अमृत बोहरा र चन्द्रप्रकाश मैनाली (सिपी) चुनिएका थिए।
तत्कालीन मालेले स्थानीय हिराबहादुर सुनुवारको जग्गामा काठेघर बनाएर महाधिवेशन आयोजना गरेको थियो। दुई महिना लगाएर तयार पारेको त्यो घरको संरक्षण गर्न मदन भण्डारी स्मृति पार्क बनाउने तयारी गरेको छ।