प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोशी प्रदेशमा राप्रपाले गठबन्धनलाई सहयोग गर्ने बताएका छन्।
मंगलबार संसद् भवन बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले समिति गठन गर्दा राप्रपासँग बनेको सहमतिको वातावरणले कोशीमा सरकार गठन र पूर्णतामा सहजता ल्याउने विश्वास व्यक्त गरे। उनले यस विषयमा दलहरूबीच सकारात्मक ढंगले छलफल हुने भन्दै सरकार फेल नखाने बरु सफल हुने तर्क गरे।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भने कोशी प्रदेशमा राप्रपाले चाहेर पनि अहिलेको सरकारलाई सहयोग गर्ने वा विश्वासको मत दिने चरण समाप्त भइसकेको बताएका छन्। यूएई र साउदी अरबको भ्रमणबाट आज स्वदेश फर्किएका अध्यक्ष लिङ्देनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग भने, 'कतिपय ठाउँमा जिम्मेवार व्यक्तिले सभामुख र एउटा मन्त्री लिने र राप्रपाले अहिलेको गठबन्धनलाई कोशी प्रदेशमा सघाउने टुंगो लाग्यो भन्ने जस्ता प्रचार भए। प्रक्रियाको हिसाबले नै अब राप्रपाले चाहेर पनि सहयोग गर्ने चरण नै समाप्त भइसकेको छ। त्यो झुट कुरा हो।'
संसदीय समितिमा राप्रपाले विकास तथा प्रविधि समितिको नेतृत्व गर्न पाएको विषयलाई लेनदेनसँग गाँसेर प्रचार गरेकोप्रति पार्टीको ध्यानाकर्षण भएको अध्यक्ष लिङ्देनले बताए। उनले भने, 'अहिलेको अवस्थामा सभामुख फालाफाल छ। सभामुख लिन कसैसँग कुनै सहमति आवश्यक पनि छैन, हामीले संसदीय समितिको नेतृत्व लिइराख्दा कुनै प्रकारको लेनदेनको सहमति भएको होइन।'
उनले संसदीय समितिको नेतृत्व पार्टीले पाएको विषयलाई लेनदेनसँग जोड्न नमिल्ने जिकिर गरे। उनले राप्रपालाई कोशी प्रदेशमा मुख्यमन्त्रीको प्रस्ताव आएको समेत जानकारी गराए। उनले भने, 'सभामुख र मन्त्री प्राथमिकताको विषय होइन। हामीले अहिले चाह्यौँ भने सत्ता गठबन्धनबाट मुख्यमन्त्री नै प्राप्त गर्न सक्ने गणितीय अवस्था छ।'