काठमाडौं–प्रतिपक्षी एमालेले सुन तस्करी प्रकरणमा सत्तारुढ दलका नेतालाई जोगाएर भरियालाई मात्र पक्राउ गरिएको दाबी गरेको छ। आज प्रतिनिधिसभा बैठकको विशेष समयमा एमाले प्रमुख सचेतक पदम गिरीले सुन काण्डमा सत्तारुढ दलका नेता जोगाएकामा आपत्ति जनाएका हुन्।
सरकारले एकातिर सुशासन कायम गर्छौं, भ्रष्टाचारका फाइल खोलेका छौं भनेर जनतालाई भ्रममा पार्ने र अर्कोतिर सत्तापक्षका भ्रष्टाचार नाइकेहरु, नेताहरूलाई जतिसुकै ठूलो अपराध गरे पनि अनुसन्धानको दायरामा नल्याइएको उनले बताए।
‘सत्तापक्षका माथिल्ला ओहोदाका नेताहरूले जतिसुकै अपराध गरे पनि कानुनी दायरामा ल्याइँदैन। तिनलाई उन्मुक्ति दिने काम भइरहेको छ। पछिल्लो समय जुन सुन तस्करी भयो, सुन तस्करीमा संलग्न भएका राजनीतिक तहका सत्तापक्षका नेताहरूलाई बोलाएर सामान्य सोधपुछको दायरामा ल्याउने कामसमेत भएन । सोधपुछ गर्ने काम भएन,’उनले भने।
सत्तापक्षको नेता भएपछि जतिसुकै अपराध गर्न पनि छुट हुने, जतिसुकै तस्करी गर्न पनि छुट हुने तर भरियालाई समाएर जेलमा पठाउँदा यो देशमा सुशासन हुन्छ भन्ने कुरा हाँस्यास्पद रहेको उनको धारणा छ।
माछा देखे दुलाभित्र हात, सर्प देखे दुलाबाहिर हात भनेझैं सत्तापक्षका नेताहरू तस्करीमा भेटिए भने उनीहरूलाई छोडिदिनुपर्ने तर सामान्य नागरिक भयो भने उनीहरूलाई जेल पठाउनुपर्ने भन्दै प्रश्न गरे।