शनिबार, वैशाख २६, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • टीकापुर जग्गा घोटालाको प्रसंग उप्काउँदै गगनले भने- भ्रष्टाचारको नेक्सस छर्लंग भएको छ

टीकापुर जग्गा घोटालाको प्रसंग उप्काउँदै गगनले भने- भ्रष्टाचारको नेक्सस छर्लंग भएको छ

 |  सोमबार, भदौ ११, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ११, २०८०

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले भ्रष्टाचारको नेक्सस र भ्रष्टाचारी जोगाउन नेताहरूबीच मिलीभगत भइरहेको भन्दै त्यसलाई तोड्न सबै एक जुट हुनुपर्ने बताएका छ्न्।

National life

सामाजिक सञ्जालमा उनले भनेका छन्, ‘भ्रष्टाचारको नेक्सस र भ्रष्टाचारी जोगाउन भइरहेका मिलीभगत तोड्न यसको विपक्षमा रहेका हामी सबै एकजुट हुनुपर्ने आजको आवश्यकता हो।’

पछिल्ला भ्रष्टाचार प्रकरणले बितेका वर्षहरूमा अख्तियारको दुरुपयोग गरेर कसरी शासन सत्ता, शक्ति र पहुँच, नाता र सम्बन्धका आधारमा ‘भ्रष्टाचारको नेक्सस’ बनिरहेको रहेछ भन्ने कुरा छर्लंग भएको उनको भनाइ छ। उनले प्रश्न गर्दै भनेका छन्, ‘भ्रष्टाचारका घटना सामसुम पार्न उनीहरू मिल्छन् भने यस्ता घटनामा छानबिन गर्न गराउन हामी किन नमिल्ने?’ उनले विगतमा जस्तै एउटै पार्टीभित्र समान धारणा भएकाहरू एक ठाउँमा आउनुपर्नेमा जोड दिएका छन्।

महामन्त्री थापाले  भ्रष्टाचारको जालो तोड्ने र सुशासन कायम गर्ने बलियो कानुनी, संरचनागत र संस्थागत सुधार गर्ने वातावरण बन्दै गएको बताएका छन्। यसका निम्ति संसद‍मा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र भ्रष्टाचारसम्बन्धी दुई वटा ऐन संशोधन विधेयक विचाराधीन रहेको उनको भनाइ छ।

उनले भनेका छन्, ‘हामीले छुट्टाछुट्टै दर्जनौं संशोधन हालेका छौं। यसमा राम्रोसँग काम गरौं।’ महामन्त्री थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतको संस्थामा हुने नियुक्तिदेखि क्षेत्राधिकारसम्म, क्षमतादेखि संरचनासम्म बलियो बनाउन पनि अपिल गरेका छन्। उनले भनेका छन्, ‘नीतिगत भ्रष्टाचारलाई परिभाषित गर्ने छुट्टै कानुन नै बनाऔं। के नीतिगत हो, के होइन प्रस्ट गरौं।’

ललिता निवास, नक्कली शरणार्थी र सुन काण्डपछि टीकापुर जग्गा घोटालालगायत एकपछि अर्को ठूला भ्रष्टाचारका काण्डहरु बाहिरिएको भन्दै उनले भ्रष्टाचारको नेक्सस बनिरहेको बताएका हुन्। पछिल्लोपल्ट सार्वजनिक भएको टीकापुर जग्गा प्रकरणमा कांग्रेस नेतृ आरजु राणा देउवाको नाम आइरहेको छ।

प्रकाशित: Aug 28, 2023| 17:55 सोमबार, भदौ ११, २०८०
प्रतिक्रिया दिनुहोस्